ईनरुवा बैशाख १३ । नेपालमा महिलाको जनसंख्या आधा भन्दा धेरै छ । हक अधिकारको कुरा उठिरहेको पनि छ । आन्दोलन भईरहेको पनि छ । तर अझै पनि देशभर महिलाहरु ठूलो संख्यामा अशिक्षा र घरेलु श्रमको चरम शिकार भईरहेका छन् ।
अझ तराईमा अशिक्षाका साथै गरीबीका कारण महिलाहरु निकै पीडित छन् । बाच्नकै लागि अनेक दुखः गर्नु पर्ने महिलाहरु दाईजोका नाममा पनि प्रताडित हुनु परीरहेको छ ।
आमाको मुख हेर्ने पर्व मनाईदै गर्दा सुनसरीको सदरमुकाम ईनरुवामा एक १० वर्षे बालिका रिक्सा चलाउदै गरेको फेला परिन् । जिल्ला विकास समन्वय परिषद्को अगाडी रिक्सा चलाएर आमालाई तरकारी बजारमा पुर्याउन मद्धत पुर्याउने यी बालिका भर्खर कक्षा २ मा पढ्दै गरेको बताउछिन् ।
सम्भ्रान्त परिवारका बालिकाहरु, आमाहरुको मुखमा त केक परेको होला, राम्रा लुगाहरु पहिरन पाएका होलान् तर एक छाक खानकै लागि रिक्सा कुदाउन बाध्य यी बालिका भविष्यकी एक आमा हुन् उनको भविष्यबारे सोच्ने को छ ?
चरम गर्मी र घामले तालु पोल्ने मध्यान्हको चर्को घाममा उनको रिक्सा देख्नासाथ धेरै मानिसहरु उनलाई नियालेको देखिन्थ्यो । त्यसैले आमाहरुलाई समृद्ध बनाउने हो भने बालीकाहरुलाई शिक्षा र रोजगारको लागि प्राथमिकता दिन जरुरी छ ।

