विद्युतीय जोखिम बढदो , पाँच वर्षमा ४७ जनाको मृत्यु

विद्युतीय जोखिम बढदो , पाँच वर्षमा ४७ जनाको मृत्यु

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, २६ चैत ।

नेपाल विद्युत् प्राधिकरणको तथ्याङक अनुसार २०६८ असारदेखि २०७३ चैतसम्म ४७ जनाको मृत्यु भएको छ ।
सबै भन्दा बढी प्राधिकरणको काठमाडौँ क्षेत्रीय कार्यालयअन्तर्गतका इकाइमा विद्युतीय दुर्घटनामा हुने गरेको पाइएको छ ।

सोही अवधिमा पोखरामा नौ जना, बुटवलमा १४, विराटनगरमा १०, जनकपुरमा १९ र अत्तरियामा आठ जनाको निधन भएको छ । दुर्घटनाबाट काठमाडौँमा ६९, पोखरा १७, बुटवल १५, विराटनगर १४, जनकपुर ११, नेपालगन्ज सात, अत्तरियामा १६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी पशु चौपाया पनि १ सय भन्दाबढी मरेका छन् । हेटौँडा क्षेत्रीय कार्यालयको भने त्यसमा विवरण समावेश गरिएको छैन । प्राधिकरणले क्षतिपूर्ति मात्रै रु आठ करोड १७ लाख २१ हजार १९७ उपलब्ध गराएको छ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक दीर्घायुकुमार श्रेष्ठले विद्युत् उपलब्धता बढेसँगै विद्युतीय दुर्घटना बढेको जानकारी दिनुभयो ।

घरघरमा हाई भोल्टेज पुगी बत्तीको स्वीच छुने व्यक्ति दुर्घटनामा परी मानवीय क्षति भएको, गुुडिरहेको यात्रुवाहक बसमा ११ केभीको तार छुन पुगी बसमा सवार यात्रुलाई करेन्ट लागेको, एलटी लाइन मर्मत गर्न ट्रान्सफर्मरको ११ केभी लाइन काटी एलटी पोलमा चढी काम गर्दा प्राविधिकलाई करेन्ट लागी ढलान गरेको जमिनमा खसेको र उपचारका क्रममा निधन भएका छन् ।

पनौती जलविद्युत् गृहबाट निस्किएको ११ केभीको फिडरमा रहेको सामान्य प्राविधिक समस्याका कारण दुई प्राविधिक र नजिकैैको कुलामा लुगा धोइरहेकी एक महिलाको घटनास्थलमा नै निधन मृत्यु भएको थियो । यी त प्रतिनिधि घटना भए तर पछिल्लो समयमा बढेको विद्युतीय जोखिम कम गर्न भएका प्रयास र पहल भने दुर्घटनाको तुलनामा कम भएको गुनासो पनि आउने गरेको छ ।

प्राधिकरणका अनुसार तोकिएको मापदण्ड विपरीत विद्युत् लाइन विस्तार एवम् निर्माण भएका कारण विद्युतीय दुर्घटना बढेको पाइएको छ । त्यसमा ११ केभी हाइटेन्सन लाइनमा काठका पोल प्रयोग हुनु, धेरै लामो लाइन हुनु, लामो दूरीमा रहेका पोल, अपर्याप्त सवस्टेसन, विद्युत् लाइन भएका स्थान प्रष्ट नदेखिनु र सुरक्षात्मक उपाय अवलम्बन नगरिनु पनि अर्को कारणका रुपमा देखिएको छ ।

यस्तै घर तथा आवास नजिकै प्रसारण लाइन रहनु, मानवीय हेलचेक्र्याँइ हुनु तथा जनचेतनाको अभाव पनि विद्युतीय दुर्घटनाको खास कारणका रुपमा रहेका छन् । दुर्घटना रोक्नका लागि जनशक्तिको व्यवस्थापन, वितरण प्रणाली सुदृढीकरण, गुणस्तरीय प्रसारण लाइन सामग्रीको प्रयोग, जनचेतना फैलाउनुपर्ने र सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।

जीर्ण भएका पोल बदल्नुपर्छ भने, उचित रुपमा कन्डक्टरको प्रयोग गर्नु आवश्यक पर्दछ । धेरै लामो फिडर रहेका ठाउँमा सवस्टेसन र स्वीचिङ स्टेसन थप गर्ने, नियमित अनुगमन गरी वितरण प्रणालीमा जडान हुने अन्य निकायका तार र केवल सुरक्षापूर्वक व्यवस्थापन गर्नु आवश्यक छ ।

विद्युतीय सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले विद्युतीय सुरक्षा अपनाउन नसक्दा बर्सेनि विद्युतीय दुर्घटना बढ्दै गएको बताउनुभयो । कतिपय दुर्घटना कर्मचारी तथा उपभोक्ताकै लापर्बाहीले हुने गरेकाले मृतक र घाइतेलाई क्षतिपूर्ति दिएर मात्रै समस्या समाधान नहुने उहाँको भनाइ थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय प्रणाली सुधार गर्न दिनरात खटिने कर्मचारीको सम्मानमा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । विद्युत्भार कटौतीको अन्त्य गर्न सफल भइसकेकाले प्राधिकरणको अबको ध्यान भरपर्दो र सुरक्षित विद्युत् सेवा प्रदान गर्नमा केन्द्रित हुने उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ