माघ २६ सिन्धुली ।
सिन्धुलीमा संरक्षण र प्रचार प्रसारका अभावमा पर्यटनका लागि प्रशस्त सम्भावना बोकेका पर्यटकीय स्थल अझै पनि ओझेलमा पर्दै आएका छन् । जिल्लाका विभिन्न स्थानमा निर्मित ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पर्यटकीय गन्तव्य ओझेलमा परेका हुन् ।
प्राचीन शैलीमा निर्मित यहाँका ऐतिहासिक स्थल सिन्धुलीगढी दरबार, हरिहरपुरगढी दरबार क्षेत्र, मधुगंगा महादेव मन्दिर, कमलामाई मन्दिर, फिक्कल, लगायतका दर्जनौ पर्यटकिय स्थलहरु अझै ओझेलमा पर्दा पर्यटकहरु त्यस क्षेत्रका बारेमा अझै पनि बेखर बन्दै आएका छन् ।
नेपाललाई जोगाउने विजय किल्ला ऐतिहासिक स्थल सिन्धुलीगढी दरबार, हरिहरपुरगढी दरबार क्षेत्रका बारेमा प्रचार प्रसार गर्न सकेको भए सिन्धुलीमा पर्यटन क्षेत्रको विकास हुने मात्र होइन्, यस क्षेत्र पर्यटकका लागि मुख्य गन्तव्यको रुपमा विकास हुने सरोकारवालाहरु बताउछन् । ऐतिहासिक सिन्धुलीगढीमा सुरक्षा नहुँदा त्यहाँ रहेको तोप तथा ऐतिहासिक सामाग्री राष्ट्रिय संग्राहलयमा पठाइएको छ भने भग्नावसेस गढी दरबारका काठ तथा ईटा चोरि भई सकेका छन् । २४ सय अंग्रेज फौजलाई हराएर नेपालको अस्तित्व राखेको इतिहास भएको विजयकिल्ला सिन्धुलीगढी र नाकवेली शैलिमा निर्माण भएको विपी राजमार्गका कारण बाहिरका पर्यटकहरु आउने गरे पनि एतिहासिक गढी दरबार पुगेपछि भग्नावसेको भद्रगोल देखेर चित्त दुखाएर फर्किने गरेका छन् ।
जिल्लाका महाभारत क्षेत्रका सामुदायिक वन, जुनार उत्पादन क्षेत्र, स्थानीय विभिन्न समुदायको सांस्कृति र लघु जलविद्युत आयोजना लगायतले सिन्धुली जिल्ला पर्यटकलाई आकर्षण गर्ने स्थल भए पनि स्थानीयबासीको अग्रसरता र सम्बन्धित निकायको वेवास्ताले प्रचारका अभावमा यो ओझेलमा पर्दै आएको छ ।
ऐतिहासिक महत्व बोकेका सम्पदा सम्म पुग्न सडक सञ्जाल सामान्य रुपमा पुगेपनि नियमित सञ्चालन हुन नसक्नु, खानेपानीको अभाव, होटल तथा विद्युतको उचित पहँुच नपुग्दा पनि पर्यटकीयस्थल झन ओझेलमा पर्दै गएका छन् । राज्यले पर्यटकीय स्थलहरुको विकास र पुनःनिर्माण गर्न छुट्याएको बजेटको सदुपयोग नहुँदा राजनितिक दलहरुलाई ऐतिहासिक स्थल तथा सम्पदा मागी खो भाडोको रुपमा विकास भएको पाइन्छ ।
पौराणिक महत्व बोकेका सम्पदाहरु भग्नावेश अवस्थामा हुनु तथा संरक्षण गर्न नसक्दा ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् । जिल्लाका ग्रामीण क्षेत्रका मठमन्दिर, दरबारमा काठका झ्याल, ढोका, पर्खालमा प्राचीन कलात्मकताको झल्को पाइन्छ । तर पर्यटकीय गन्तव्यका रुपमा रहेका त्यस्ता सम्पदाको संरक्षरण हुन नसक्दा स्थानीयवासी भने चिन्तित बनेका छन् । सिन्धुलीगढीमा प्रयोग भएका दरबार सङ्ग्रालयमा हेर्ने लायकका वस्तु अझै जुटाउन सकिएको छैन । यस्तै दरबार क्षेत्रमा सडकको पहँुच भए पनि त्यसलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक रहेको स्थानीय शिक्षक मेख बहादुर अधिकारीले बताउनुभयो ।
यातायात, विद्युत, सञ्चार, होटल लगायतका पूर्वाधारलाई अझै सुविधा सम्पन्न ढङ्गले निर्माण गर्न खाँचो रहेको सरोकारवाला बताउँछन् । जिल्लाका अन्य मठ मन्दिरहरु महत्वपूर्ण सम्पदा भए पनि यसको प्रचार प्रसार हुन नसक्दा धार्मिक पर्यटकको आगमन फितलो भएको छ । सिन्धुलीगढी दरबारमा प्रयोग भएका झ्याल, ढोका, थाम र हातले कुदेका कलात्मक मूर्तिहरु पनि चोरी भैसकेको छ ।