यतिखेर राजनीतिकोको दुई पाटामा उभिएका दुई नेता छन् सत्तारुढ शक्तिको नेतृत्व गरीरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सरकार विरोधी मोर्चाको नेतृत्व गरीरहेका एमाले अध्यक्ष केपी ओली । ओली कडा टिप्पणी गरेर पनि चर्चित बनेका छन् । त्यसैमा प्रचण्ड जे पनि बोल्ने र व्यवहारमा लागु नगर्ने नेताको रुपमा चिनिदै गएका छन् । प्रचण्ड मधेश विना पहाडको परिकल्पना हुदैन र पहाड विना मधेशको अस्थित्व संभव नभएको भन्दै सदनमा प्रस्तुत सविधान शसोधन सम्बन्धि बिधेयक जसरी पनि पारीत गराउने अझ पुरक प्रस्ताव ल्याएर पारीत गराउने रणनीतिमा लागेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली यो देश टुक्रयाउने खालको प्रस्ताव भएकोले यसलाई जसरी पनि असफल पार्नु पर्ने भन्दै त्यसको विरुद्धमा उभिएका छन् । अहिले यीनै दुई टावर पोलिटिसियनको विरोध र समर्थनमा राजनीति केन्द्रीत भईरहेको छ सामाजिक सञ्जाल देखि मिडिया सम्ममा पनि ।
बिहिबार स्याग्जामा महोत्सवको उद्घाटन गर्न पुगेका थिए पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्ड पर्वत ।
दुवै नेताले भाषण गर्ने क्रममा विद्युत आपुर्ति बन्द भयो । त्यही बेला ५ मिनेट सम्म पनि विद्युत नआए पछि एमाले अध्यक्ष रिसाउदै मञ्च छाडेर हिडे । त्यस पछि उनलाई लक्षित गरेर ढुंगा प्रहार भयो ।
पर्वतमा पनि कार्यक्रममा बोल्दा बोल्दै बिजुली गयो । प्रधानमन्त्री प्रचण्ड केही बेर उभिए बिजुली आउन समय लाग्ने भने पछि मञ्चमा गएर बसे । अनि बिजुलीको व्यवस्था भए पछि पुनः बोलेर समापन गरृे । यो उनीहरुको स्वभाव र जनशैलीबारे सामाजिक सञ्जालमा व्यापक चर्चा पायो ।
को राष्ट्रघात र राष्ट्रवादको जुहारी
(क) प्रचण्डः प्रचण्ड १० वर्ष लामो शसस्त्र युद्धमा भारतीय विस्तारवाद भन्दै सुरुगं युद्ध सम्मको तयारी थालेर पछि दिल्लीमै भएको १२ बुदे समझदारी पछि शान्तिपूर्ण राजनीतिको धारमा आए । यो राजनीतिक कालखण्डमा भित्री सम्बन्धहरु जे भए पनि आन्दोलनको एउटा नारा भारतीय विस्तारवादको विरोध पनि थियो । युद्ध अघि सत्तामा नगएकाले उनको नेतृत्वमा राष्ट्रघात भएन । पहिलो पटक प्रधानमन्त्री हुदा चीन भ्रमण गर्ने नेपालकै पहिलो प्रधानमन्त्री हुन् प्रचण्ड तर भारतीय दवाव पछि उनले पुनः पहिलो राजनीतिक भ्रमण भारतमै हुने सफाई दिएर सम्बन्ध सुधार्ने प्रयास गरे । पछि रुकमाग्गद कटुवाल प्रकरणपछि सत्तामा धक्का लागेका प्रचण्ड अहिले दोस्रो पटक प्रधानमन्त्री छन् ।
मधेश आन्दोलन चरम हुदै गएका बेला ओली सरकार ढालेर प्रचण्डको नेतृत्वमा सरकार बन्यो । यसका निम्ती दिल्लीको माईक्रो म्यानेजमेन्ट जिम्मेवार छ भन्नेमा दावी छ सबैतिर । यही बखतमा प्रचण्डको दिल्ली भ्रमणका क्रममा भएका २५ बुदे सम्झौता, नागरिकता र हिन्दी भाषालाई राष्ट्रिय भाषाकै मान्यता दिने प्रस्ताव र खासगरी पछिल्लो पटक ५ नं प्रदेश टुक्रयाउने प्रस्ताव पछि प्रचण्डमाथि राष्ट्रघातको चरम आरोप लागीरहेको छ । अरुण तेस्रो परियोजना भारतलाई दिने , माथिल्लो कर्णाली परियोजनामा पनि भारतीय कम्पनीको म्याद थप्ने जस्ता विषयमा पनि उनको आलोचना भईरहेको छ जब कि उनीहरुले सत्तामा आउनु पूर्व यस्ता परियोजनाको विरोध गर्दै आएका थिए ।
चीन भारत र नेपाललाई त्रिदेशीय साझेदारीमा आउनु पर्छ र नेपाल दुई देशको पुल बन्नु पर्छ भन्ने प्रचण्डको प्रस्ताव केही वर्ष पहिले देखि आएको छ । उनी युद्धकालमा नेपाललाई दुई ढुंगाको तरुल हैन डाईनामिक हो भन्ने गर्दथे । अहिले उनले भारतीय राष्ट्रपतिको आगमनमा सार्वजनिक विदा दिने जस्ता विवादास्पद निर्णयका कारण प्रचण्ड राष्ट्रघातको आरोप व्यहोर्न बाध्य छन् ।
(ख) केपी ओलीः २०५४ सालको महाकाली सन्धिका बेला एमाले विभाजजको शिकार भयो । त्यस बेला एमाले नेता ओलीले महाकाली सन्धि पछि नेपालमा सूर्य पश्चिमबाट उदाउने बताएका थिए । काग्रेस र एमाले मिलेर गरेको त्यो सन्धिले नेपालले महाकालीको पानी त गुमायो नै नेपालले सिमा अतिक्रमण र डुबानको समेत ठूलो समस्या भोग्नु परेको छ । अहिले पनि शारदा व्यारेज र ब्रम्हदेव जस्ता ठाउमा पुगेर हेर्दा त्यो सन्धीको पीडा देखिन्छ ।
तर भारतीय नाकाबन्दी शुरु भएका बेला प्रधानमन्त्री बन्ने मौका पाएका र त्यो समय नेपालमा भारत विरोधी भावना चरम बनिरहेको मौका भएकाले उनले भारत बिरुद्ध देश सानो हुदैमा स्वाभिमान सानो हुदैन भनेर निरन्तर टिप्पणी गरीरहे र भारत भ्रमण जान समेत ढिला मात्र गरेनन् राष्ट्रपति विद्या देवी भण्डारीको भारत भ्रमण नै रद्ध समेत गराए । यसै अवधिमा नेपालले चीनसगँ पहिलो पटक पारवहन सन्धि गर्न सफल भयो । चीनसगँको नेपालको सम्बन्ध केही विस्तार भयो । यो जस भने ओलीले पाउने नै छन् ।
नाकाबन्दीको समयमा प्रधानमन्त्रीको निर्वाचन भयो । त्यस बेला गठबन्धनको मुल सुत्रधार प्रचण्ड र ओली थिए । प्रचण्डको ठूलो कसरतमै ओली प्रधानमन्त्री भएका थिए । तर अहिले सत्ता देउवाको काधमा टिकेर बनेको छ र ओली निशाना लगाईरहेका छन् ।
बाघको लडाँई जस्तो देखिने नेताहरुको द्धन्दले उनीहरुलाई कति कति फाईदा पुग्ने हो निश्चित छैन तर देशलाई घाटा भने अवस्य हुने छ ।