यतिबेला नेपाली साहित्य र संगीतले निक्कै ठूलो फड्को मारिसकेको छ । को कतिबेला एक्कासी चर्चामा आउने र कस्को सिर्जना कतिबेला बेपत्ता हुने पत्तै हुदैन । यस्तो दुनिया प्रतिस्पर्धाको विचमा नेपाली साहित्य सिर्जना निक्कै नै निखारिएको हुनु जरुरी हुन्छ । यसै विचमा नेपाली साहित्य सिर्जनासँगै संघर्ष गरिरहेका तिख्खर सर्जक टेकबहादुर तामाङ साढे दुई दशकदेखि नेपाली साहित्य लेखनमा निरन्तर लागि रहनु भएको छ । अहिलेसम्म पनि नेपाल प्रहरीको अधिकृत स्तरमा सेवा गरिरहनुभएका गीतकारको साहित्यिक नाम भने टेक तामाङ हो । त्यसैले त उनको श्रृजनामा रमाउने तमाम् छन् । साहित्यकार तथा गीतकार तामाङको श्रृजनाहरुले निक्कै राम्रो ठाउँ पाएता पनि नेपाली मिडियाहरुमा भने उनी किन त्यति धेरै छाउदैनन् । कि छाउन चाहेका होईनन् त ? तामाङको सामान्य परिचय र श्रृजनाको बारेमा कुराकानीको आधारमा केही कुराहरु प्रस्तुत गरिएकोछः–
पूर्वि पहाडी जिल्ला भोजपुरको हेलौछा–३ मा बुबा भीमबहादुर तामाङ र आमा फूलमाया तामाङको कोखबाट वि.स. २०२७ साल अशोज २९ गतेका दिन साहित्यकार टेक तामाङको जन्म भएको थियो । एस.एल.सी. सम्म भोजपुरमै अध्ययन गरेका तामाङले अहिले एम.वि.एस सम्म अध्ययन पुरा गरेका छन् । नेपाली साहित्यको उर्बर भूमीको रुपमा चिनिने भोजपुर जिल्लाले तामाङ भन्दा अग्रज साहित्यकारहरु हिरण्य भोजपुरे, गणेश रसिक, एस.पि कोईराला, श्रवण मुकारुङ आदि जन्माई सकेका छन् । श्रृजना समिक्षक संगीत श्रोता भन्छन्ः– “हुन त साहित्यकार टेक तामाङले नेपाली साहित्यलाई मात्र पेशाको रुपमा अगाडी बढाएको भए देखि अहिले देखिएका जल्दा बल्दा साहित्यकारहरु भन्दा कमको त हुन्न थिए । प्रचार पनि ठूलो कुरा रैछ ।” यद्यपी उनी खुशी नै छन् । श्रृजना मरेको होइन । श्रृजनालाई प्रचारमात्र गर्न नसकेको हो भन्नेमा तामाङ ढुक्क छन् ।
दुनियाको अगाडी प्रचार÷प्रसार गर्न हिचकिच्याउने उनी पैशा खर्च गरेर आफ्नो प्रचार गर्न किमार्थ चाहादैनन् । तपाईको सिर्जनाको बारेमा केहि मिडियामा चर्चा लेख्छु भन्दै जादा त लाज मान्ने उनी कसैले मन भित्रै बाट गुनगुनाई दियोस भन्न चाहान्छ । तर अहिलेको बजारमा श्रष्ठाहरुले भने मिडियाकर्मि र कुनै प्रोगाम प्रोडुसर लाई भनसुन र भट्टीपसल वा कुनै राम्रो रेष्टुरेन्टमा खुवाएर या पैशा दिएर चर्चा कमाउन चाहान्छन् । रातारात आफू चर्चित बन्न रुचाउनेहरुको लहरै रहेको यो काठमाडौं शहरमा जतिसुकै राम्रो सिर्जना भएपनि खर्च र भनसुनमा नलाग्नेको लागि भने निक्कै समस्या रहेको छ । हुन त गीतकार तामाङले आफू दुनियाको अगाडी चर्चित हुँ भन्नको लागी वा हाईफाई देखाउन चाहेको भए आफ्नो तलबको बचत मात्र खर्च गर्दा पुग्थयो होला । तर उनी कहिले त्यसो गरी चर्चित हुन चाहेनन् । सिर्जना त समाज परिवर्तन गर्ने हुनुपर्छ । देश र समाजको रुपान्तरणको पक्षमा हुनुपर्छ । उनको यस्तै सोचले गर्दा होला सायद । कस्को सिर्जना हो भन्ने थाहा नपाई दुनियाले उनकै रचना वा सिर्जना गुनगुनाई रहेको पाईन्छ ।
सानै उमेर देखि साहित्य सिर्जना र सामाजिक कार्यमा लाग्नु तामाङको प्रमुख रुचीको विषय नै थियो । साहित्य श्रृजना मार्फत समाज परिवर्तन गर्न सकिन्छ भन्नेमा विश्वास राख्दथे । उनले धेरै पैशा कमाएर मोज मस्तीको साथ बस्ने कहिले सपना बुनेनन् । ग्रामीण क्षेत्रको मध्यम परिवारमा जन्मेका तामाङले अभाव संग कसरी लड्नु पर्छ भन्ने पाठ सानै देखि राम्ररी सिकेका छन् । त्यसैले पनि व्यापक सम्पती कमाई मोजमस्ती गर्ने कुनै सपना देखेनन् । सपना देखे त “सत्य सेवा सुरक्षणम्” र साहित्य सिर्जनाको । यसै कार्यले पनि तामाङलाई अहिले यो बाटोसम्म ल्याइपु¥याएको हुनुपर्छ । यत्तिवेला नेपाल प्रहरीको अधिकृत (एस.पि.) र साहित्यिक क्षेत्रको निक्कै राम्रो सर्जकको हैसियत बनाएका उनले यति ठूलो पद र प्रसंसा कमाउनु कम ठट्टाको कुरा होइन ।
करिव २१ बर्ष प्रहरी अधिकृतको अनुभवः–
नेपाल प्रहरीको प्रहरी निरिक्षक (इस्पेक्टर) पदमा वि.स.२०५२ सालमा भर्ना भएका टेक तामाङ हाल प्रहरी उपरिक्षक (एस.पि.) पदमा कार्यरत हुनुहुन्छ । विभिन्न पदमा रहदा तामाङले अनेक जिम्मेवारीहरु सम्हाली सक्नु भएको छ । प्रहरी तालिम केन्द्र विराटनगर र भरतपुरमा प्रशिक्षकको रुपमा र प्रहरी प्रधान कार्यालयमा इन्टरपोल शाखा प्रमुखको रुपमा काम गरिसक्नु भएको छ भने प्रहरी निरिक्षक मै रहदा इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुर र गजुरी धादिङ, वडा प्रहरी कार्यालय सानेपा ललितपुर र लैनचौर काठमाडौंमा समेत प्रमुख भई काम गरिसक्नुभएको छ । उता डि.एस.पि भएपछि जिल्ला प्रहरी कार्यालय अर्घखाची र खोटाङ, महानगरिय प्रहरी बृत कालिमाटी र इलाका प्रहरी कार्यालय धरानमा जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नु भएको छ । एस.पि. भए पछि देखि हालसम्म अनुसन्धान अधिकृतको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा कार्यरत तामाङलाई कहिलेपनि फुर्सभने भएन ।
नेपाल प्रहरी जस्तो सम्मानीत संगठनको जिम्मेवार अधिकृत र हतारमै साहित्य श्रृजना गर्ने साहित्यकार भएको कारण उनले घरपरिवारलाई समेत समय दिन धौं–धौं हुन्छ । कामयामी तामाङ । नामयामी हुनबाट बञ्चित भएका छन् । तर उनको विश्वास छ नामयामी पनि हुन सकिन्छ भनेर । एकदिन राम्रो कामको अवश्य प्रसंसा हुनेमा पनि विश्वास लिएका छन् । तर त्यो दिन सायद ढिला भईसकेको हुनेमा उनको शंका पनि उत्तिकै रहेको छ । यसको मतलब नेपाली इतिहासमा राम्रा काम गर्नेहरु मरीसकेपछि मात्र प्रसंसा वा सम्मान गर्ने चलन भएकाले तामाङको शंका यसैमा केन्द्रिकृत रहेको हो ।
संयुक्त राष्ट्र संघिय मिसनमा तामाङः–
प्रहरी पेशामै रहदा तामाङले विभिन्न देशमा संयुक्त राष्ट्रसंघिय मिसनमा समेत गईसक्नु भएको अनुभव छ । साहित्यकार तथा एस.पि तामाङले सन् २००३–२००४ मा कोसोभो, २००८–२००९ इष्ट टिमोर र २०१३–२०१४ सम्म डार्फर गरी तीन ओटा देशमा मिसन सफल पारी आउनु भएको थियो ।
शाहित्यकारहरु जोगी नै बन्नु पर्छ त ?
तामाङले विभिन्न ठाउँमा प्रहरी प्रमुख हुदाँ कमाउन चाहेको भए मोटो रकम कमाउन सक्थे । यस कार्यमा न त आफ्नो पूर्खाहरुनै संलग्न भएको इतिहास छ न त आफै । सामान्यतया खान पुगोस र लाउन पुगोस भन्ने धारणा रहेका तामाङले कहिले जिन्दगीमा खर्चको मामीलामा मोजमस्ती गरेनन् । चाहिदो खर्च गर्ने र घरपरिवार धान्न सक्ने भए मात्र खुशी हुन्थे । अहिलेसम्म सादा जीवनमै उनको जिन्दगी वितेको छ । यसैमा उनी सधै रमाउने गर्छ । त्यसैले पनि नेपाली साहित्यमा यति धेरै कलमहरु चलाए, विभिन्न कृतिहरु निकाले अनि करिव ३÷४ दर्जन गीत संगीतहरु रेकर्ड गराए तर कतिपनी मिडियामा छाउन सकेका छैनन् । यत्तिवेला उनमा एउटा फ्रस्टेसन आक्कल झुक्कल आउने गरेको छ । त्यो हो अनाबश्यक खर्च गरेर चर्चा कमाउनेहरुदेखी । तामाङको गीतले जति चर्चा पायो तर तामाङले त्यति चर्चा पाएका छैनन् ।
ओझेलमा परेका साहित्यकार तामाङको साहित्यिक कृती र यात्राहरुः–
साहित्यकार तथा गीतकार टेक तामाङको शब्द रचनामा सबैभन्दा पहिले वि.स. २०५१ सालमा केदार गोलेको स्वरमा “छाल आउदा सम्मmनाको” नामक गीत रेकर्ड भएका थिए । स्कुलले जीवनदेखि नै गीत, कविता, गजल, निवन्ध, र कथा जस्ता विधाहहरुमा कलम चलाउदै आएका तामाङले क्याम्पस जीवनमा साहित्यिक क्षेत्रलाई निक्कै अघि बढाएका थिए । नोकरीमा प्रबेश गर्नु अघि जति उपन्यास र कथामा कलम चलाए त्यो भन्दा केहि हद मात्र उक्त विधामा कलम चलेको सुनाउनु हुन्छ । विशेषतः गीत लेखन कार्यलाई प्रथामिकता दिनुहुने तामाङले हालसम्म झण्डै साढे चार दर्जन गीतहरु रेकर्ड गराइ सक्नुभएको छ । उनको रिलिज भईसकेका चर्चित गीतहरुमा शिव परियारले गाएको “ठूलो सानो जातै छैन” बोलको गीतले २०७० को ईमेज अर्वाड समेत जितीसकेको छ । यस्तै राजेशपायल राई र अञ्जु पन्तको स्वरमा रहेको “जीवन साथी न त यस्तो” अञ्जु पन्तको स्वरमा “आफ्नै घड्कन थामेकोले”, राजेशपायल राईले गाएको “मै खुकुरी अघि सरी”, कुन्ती मोक्तानले गाएको “नारी हामी नारी” जस्ता गीतहरु उत्तीवेलाकै चर्चित गीतहरु हुन् । पछिल्लो समय यूटुवमा हालेको यो गीतहरु नसुन्ने मान्छेहरु कमै मात्रामा रहेको भेटिन्छन् । यस्तै गीतकार तामाङकै शव्द रचनामा रहेको चलेको गीतहरुमा “डाइबर दाइ, गुराँसको थुङ्गा, अंगालेमा बेरी रहु, छाती भित्र सजी रहु, जस्ता नेपाली सांगितीक यात्राको अव्वल दर्जा भित्र पर्दछ । यस्तै स्वदेश गान र अधुनीक गीतहरुमा नेपाली ठेट शव्दहरु संग्रहित रहेका छन् । उता गीतकार तामाङको शव्द रचनामा पप र लोक गीतहरु पनि धेरै नै रेकर्ड भएको पाईन्छ । ती श्रोता सामू पुग्न नसकेको गीतहरुले एकदिन अवश्य ठाउँ पाउनेमा उनी ढुक्क छन् ।
गीतकार तामाङको रचनामा २०६७ सालमा “स्वदेश” र “माटोको आवाज” नामक देशभक्ती गीति एल्वम् र कविता तथा गीति संग्रह प्रकाशित तथा विमोचन गरेका थिए भने २०६९ मा “जीवन साथी” नामक आधुनिक गीति एल्वम् निकालीसक्नु भएको छ । यस्तै २०७० मा “आमा” नामक गीति एल्वम् र करिव एक दर्जन भन्दा बढी भजनहरु समेत रेकर्डिङ भईसकेका छन् । अहिलेपनि गीतकार तामाङले आफ्नो हतारको इन्जुरी समय लाई गीत लेखनमै गुजारेको पाईन्छ । चर्चित गीत हुदाँ हुदै गीतकारको नाम बाहिर आउन नसकेको भन्दै दुनियाले आफ्नो गीत गुनगुनाएकोमानै ज्यादा खुशी देखिनु हुन्छ । तर बाहिर मञ्चमा गाउनेहरुले समेत टेक तामाङको शब्द भन्ने थाहा नपाएकोमा मनमनै गुनासो भने स्वभाविक रुपमा लाग्ने गरेको सुटुक्क सुनाउनु हुन्छ ।
–गोपालचन्द्र राई
grjanajati7@gmail.com
यो लेख कुराकानीमा आधारीत रहेको हो ।
