एजेन्सी भदौ १६ ।
देशको बजेट हिनामिना गरेको भन्दै ब्राजिलको संसद्ले राष्ट्रपति डिल्मा रुसेफलाई पदबाट हटाएको छ । संसद्को माथिल्लो सदन सिनेटले राष्ट्रपति रुसेफ विरुद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्दै पदबाट हटाएको हो ।
सिनेटरहरुले राष्ट्रपति रुसेफलाई महाभियोग लगाएर पदच्युत गर्ने कि नगर्ने भन्ने विषयमा मतदान गर्दा सिनेटका ८१ मध्ये ६१ जना सिनेटरले महाभियोगको पक्षमा मतदान गरेका थिए ।
योसँगै ब्राजिलमा रुसेफको वर्कर्स पार्टीको वामपन्थी सरकारको १३ वर्षे शासनकाल अन्त्य भएको विविसीले जनाएको छ । रुसेफको कार्यकाल आगामी सन् २०१९ को जनवरी १ मा सकिँदै थियो । रुसेफले भने आफू माथि लगाइएको आरोप अस्विकार गर्दै आउनु भएको छ ।
अब बाँकी कार्यकाल कार्यकारी राष्ट्रपति मिसेल टेमरले पूरा गर्ने भएको छ । नरम–दक्षिणपन्थी पीएमडीबी पार्टीका नेता मिसेल टेमलले चाँडै नै राष्ट्रपति पदको सपथ लिने बताइएको छ ।