बागलुङ , २९ साउन ।
बाग्लुङमा बाढी, पहिरोका कारण हालसम्म १२३ परिवार विस्थापित भएका छन् । ७ सय १२ घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाईएको छ ।
घरबास गुमाउनेको सङ्ख्या अझै बढी हुनसक्ने कार्यालयले जनाएको छ । यही साउन १० र ११ गतेको बाढीमा घर गुमाउने अधिकांश जिल्लाको पश्चिम भेगका बासिन्दा छन् ।
सबैभन्दा बढी अधिकारीचौर गाविसका ६७ घरमा पूर्ण क्षति पुगेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले जानकारी दिए । सो गाविसका ३९७ जना विस्थापित अवस्थामा छन् ।
भुजी खोलामा आएको बाढीले अधिकारीचौरको दोगाडी, छालहाल्ने, ओख्रेनी, सामीद्वारलगायतका बस्तीमा क्षति पुर्याएको थियो । बुङ्गादोभानमा २० घर पूर्ण क्षति हुँदा १३० जना विस्थापित छन् ।
त्यस्तै बुर्तिवाङमा नौ घरका ४७ जना, भिमगिठेमा पाँच घरका २२ जना, दर्लिङमा चार घरका १७ जना, निशीमा तीन घरका १६ जना विस्थापित भएको पाण्डेयले बताउनुभयो । बाढीले ग्वालीचौरको एक घर बगाउँदा सात जना विस्थापित छन् ।
बागलुङ नगरपालिकाका पाँच घरमा पुगेको क्षतिले २२ जना, मालिकाको एक घरका चार जना, रायडाँडाका दुई घरका पाँच जना, कुश्मीसेराका दुई घरका १० जना र बोहरागाउँका दुई घरका आठ जना विस्थापित भएको जनाइएको छ ।
बाढी प्रभावितको लागि प्रारम्भिक राहत वितरण कार्य भने भईसकेको बताईएको छ । सम्बन्धित गाविस सचिवले वितरण गर्ने गरी पेश्की रकम दिइएको उहाको भनाइ छ ।