काठमाडौ ,२८ साउन ।
केही समय यता रोकिएको भूकम्प पिडितको आवास पुनरनिर्माणका लागि दिदै आएको अनुदानको पहिलो किस्ता रकम वितरण कार्य आजदेखि पुनः सुचारु भएको छ ।
पहिलो किस्ताको रकम नपाएका भूकम्प प्रभावित १२ जिल्लाका बाँकी भूकम्प पिडितलाई पुनः आजदेखि रकम विरतरण गर्न लागिएको राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले जनाएको छ ।
पुरानो रकम सकिएको र नयाँ आर्थिक वर्षको रकम अख्तियारी आउन ढिलाई भएका कारण अनुदान रकम वितरण कार्य केही समयका लागि रोकिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन बमोजिम ४५ दिनभित्रमा अनुदान वितरणको कार्य सम्पन्न गर्ने गरी काम सुरु गर्ने तयारी भएको प्राधिकरणका सहायक प्रवक्ता भीष्म भुसालले जानकारी दिनुभयो ।
सरकारले भूकम्पप्रभावित १२ जिल्लाकम २ लाख ८९ हजार २ सय ९२ घरधुरीसँग पहिलो किस्ताको अनुदान सम्झौता गरेको छ । जसमध्ये ४२ हजार ८ सय ८२ जनाले पहिलो किस्ताको रकम पाइसकेका छन् ।