एजेन्सी,साउन २४ ।
राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पसँग अमेरिकाको राष्ट्रपति हुने कुनै अनुभव, मूल्य र चरित्र नै नभएको अमेरिकी रिपब्लिकन पार्टीका ५० जना राष्ट्रिय सुरक्षा विशेषज्ञहरुले आरोप लगाएका छन् ।
सुरक्षा विशेषज्ञहरुले हस्ताक्षर सहितको खुला पत्र सार्वजनिक गर्दै ट्रम्प राष्ट्रपति भए अहिले सम्मकै सबैभन्दा लापरबाही राष्ट्रपति सावित हुने दाबी गरेका छन् । पत्रमा डोनाल्ड ट्रम्पका लागि आफूहरुले मतदान नगर्ने समेत उल्लेख गरेका छन ।
यसअघि पनि केही वरिष्ठ रिपब्लिकन नेताहरुले ट्रम्प प्रति असहमति जनाइसकेका छन् । सुरक्षा विशेषज्ञहरुले स्वतन्त्र विश्वका नेतृत्व गर्ने नैतिक अधिकारलाई ट्रम्पले कमजोर सावित गर्ने दाबीसमेत गरेका छन् ।
उनीहरुले अमेरिकी संविधान, कानुन र संस्थाका बारेमा सामान्य जानकारीसमेत ट्रम्पसँग नभएको जिकीर गरेका छन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।