एजेन्सी , साउन २१ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) माथि गठबन्धन सेनाले १४ हजारभन्दा बढी हमला गरेको बताउनु भएको छ ।
अमेरिकी रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ओबामाले आइएसलाई समाप्त पार्न आगामी दिनहरुमा पनि आक्रामक प्रयास जारी राख्ने बताउनु भएको हो ।
६७ देशको गठबन्धनको नेतृत्वमा अमेरिकाले आइएसलाई समाप्त पार्न साझा अभियान जारी राख्ने उहाँले बताउनु भयो ।
एक वर्षको अवधिमा आइएसविरुद्ध गरिएको १४ हजार हवाई हमलामध्ये इराकमा ९ हजार चारसय भन्दा बढी हमला गरिएको छ । त्यसैगरी सिरियामा ४ हजार सातसय भन्दा बढी हमला गरिएको विविसीले जनाएको छ ।
गठबन्धन राष्ट्रका सेनाले गरेको कारवाहीकै कारण सिरिया र इराकमा विगत एक वर्षमा आइएसले कुनै ठूलो आक्रमण गर्न नसकेको ओबामाले स्पष्ट पार्नु भयो ।
ओबामाले सिरियाली सरकारलाई समर्थन गरेको र एलेप्पोजस्ता ठूलो जनसंख्या भएको सहरलाई घेराबन्दी गरेकोमा रुसको कडा आलोचना समेत गर्नू भएको छ ।