काठमाडौ ११ साउन ।
जापानमा एक व्यक्तिले चक्कुले आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । राजधानी टोकियो नजिकै अपांगता भएकाहरुका लागि बनाइएको आवासीय क्षेत्रमा उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
राजधानी टोकियोबाट ४० किलोमिटर दक्षिण पश्चिम स्थित सागमिहारामा बनाइएको आवास क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा अन्य ४५ जना घाइते भएको जापानी अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।
आक्रमणकारी २६ वर्षीय सातोशी उएमाट्सुलाई प्रहरीले पक्राउ गरेको छ । उनी रेखदेख केन्द्रका पूर्व कर्मचारी रहेको जापानका सञ्चारमाध्यमले जनाएका छन् । नेपाली समय अनुसार गएराति करिब सवा ११ बजे आक्रमण भएको हो ।
आक्रमणकारीले आक्रमणपछि आवास नजिकै रहेको प्रहरी चौकीमा गएर जानकारी गराएको थियो । आक्रमण के कारणले गरियो भन्ने बारेमा भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।