एजेन्सी १९ असार ।
बंगलादेशको राजधानी ढाकामा विद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमण परि ज्यान गुमाएकाको सम्झनामा त्यहाँ दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले दुई दिने राष्ट्रिय शोकको घोषणा गर्दै आतंकवाद विरुद्ध लड्ने प्रतिबद्धता जनाउनु भएको छ । आतंककारीको कुनै धर्म नहुने भन्दै उहाँले धर्मका नाममा हुने कुनै पनि आतंक स्वीकार्य नहुने बताउनु भयो ।
आइएसले शुक्रबार राति राजधानी ढाकास्थित एक क्याफेमा आक्रमण गरी २० नागरिकको हत्या गरेको थियो । आक्रमणकारीले क्याफेमा रहेका मानिसलाई बन्धक बनाएर हत्या गरेका हुन् । मारिनेमा अधिकांश विदेशी नागरिक रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
घटनामा ज्यान जानेमा नौ जना इटाली, सात जना जापानी, तीन जना बंगलादेशी तथा एक भारतीय नागरिक रहेको बिबीसीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले मारिनेमा एक जना अमेरिकी नागरिक पनि भएको जनाएको छ ।
सो क्रममा दुई जना प्रहरी अधिकारीको समेत ज्यान गएको अधिकारीहरुले जनाएका छन् । बंगलादेशको सैनिकले बन्धक बनाइएका १३ जनालाई १२ घण्टापछि सकुशल उद्धार गरेको थियो ।
यसैबीच फ्रान्समा चलिरहेको युरोकप अन्तर्गत गएराति जर्मनीसँगको खेल अघि इटालीको फुटबल टिमले आक्रमणमा मारिएको सम्झनामा मौन धारण गरेका थिए ।