एजेन्सी ६ असार ।
अफगानिस्तानको राजधानी काबुलमा आज बिहान मिनीबसलाई लक्षित गरी भएको आत्माघाती आक्रमणमा १४ जना नेपालीको मृत्यु भएको छ ।
आज बिहान काबुलमा भएको बिस्फोटमा परि ज्यान जाने सबै नेपाली रहेको त्यहाँको गृहमन्त्रालयले पुष्टी गरेको हो । घटनामा ९ जना घाइते भएका छन् । जसमध्ये पाँच नेपाली र चार अफगानिस्तानका नागरिक रहेको जनाएको छ ।
घटनालगत्तै दर्जनौं एम्बुलेन्स घटनास्थलमा पुगी उद्धार कार्य गरिरहेको छ भने घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ ।
आक्रमणको जिम्मा विद्रोही समुह तालिबानले लिएको छ । राजधानी काबुलबाट पूर्वी शहर जलालाबाद जाँदै गरेको बसमा हिँडेर आएको आक्रमणकारीले विस्फोट गराएका थिए ।
यसैबीच परराष्ट्र मन्त्रालयलले सो घटनाबारे पाकिस्तानमा रहेको नेपाली दुतावासबाट बुझ्ने प्रयास भइरहेको जनाएको छ ।
अफगानिस्तानमा दूतावास नभएका कारण पाकिस्तानको इस्लामाबादमा रहेको दूतावास मार्फत घटनाका बारेमा बुझ्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले बताउनुभयो ।