एजेन्सी २९ जेठ ।
भेनेजुयलाको निर्वाचन आयोगले राष्ट्रपतिलाई हटाउनुपर्ने माग सहित परेको सिफारिसमा पुनः छानविन गर्न क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।
राष्ट्रपतिलाई हटाउनुपर्ने मागसहित आयोगमा परेको सिफारिसमा हस्ताक्षर गर्ने १३ लाख मानिसको परिचय पुनः छानविन गर्न क्षेत्रीय निर्वाचन कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।
राष्ट्रपति निकोलस मडुरोको बर्खास्तीका लागि भएको जनमत सग्रहमा सहभागी १३ लाख मानिसको आधिकारिकतामाथि प्रश्न उठाउदै आयोगले परिचय पुनः छानबिन गर्न निर्देशन दिएको हो ।
आयोगले हस्ताक्षर पुनः परिक्षणका लागि आगामी जुन २० तारिखदेखि ५ दिनको समय दिइएको छ । निर्वाचन समितीले ६० हजार भन्दा बढी हस्ताक्षर अबैधानिक ठहर गरेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै विवीसीले जनाएको छ ।
गलत तरिकाबाट संकलित हस्ताक्षरमा हजारौ नामहरु मृत्यु भइसकेका र बालबालिकाको समेत रहेको आयोगको दावी छ । उता प्रतिपक्षीले भने निर्वाचन आयोगले सरकारसंग मिलेर जनमत संग्रहको प्रक्रिया लम्ब्याउन खोजेको आरोप लगाएको छ ।
राष्ट्रपतिको बर्खास्ती माग गर्दै १३ लाखको हस्ताक्षर सहितको सिफारिस गत मे २ तारिख निर्वाचन आयोजनमा दर्ता भएको थियो ।