एजेन्सी, जेठ २५
अमेरिकी राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडमा रहेकी हिलारी क्लिन्टनले डेमोक्र्या्टिकको तर्फबाट उम्मेदवार बन्न चाहिने २३ सय ८३ प्रतिनिधिको समर्थन पाउनु भएको छ ।
डेमोक्र्या्टिकको तर्फबाट क्लिन्टनसँगै बर्नी सान्ड्रेस उम्मेदवारीको होडमा रहनु भएको छ ।तर क्लिन्टनले आवश्यक मत पूरा गर्नुभएकाले डेमोक्र्या्टिकको तर्फबाट उहाँ नै उम्मेदवार बन्ने लगभग पक्का भएको समाचार संस्था एपीले जनाएको छ ।
क्लिन्टन प्रमुख अमेरिकी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो महिला हुनुहुनेछ ।क्लिन्टनले उम्मेदवार बन्नका लागि चाहिने प्रतिनिधि (डेलिगेट्स) संख्या पूरा गर्नुभएको एपीले उल्लेख गरेपनि अर्का दाबेदार सान्ड्रेसले भने क्लिन्टनले उम्मेदवारीको दौड जिति नसकेको बताउनुभएको छ ।
जितका लागि सुपर डेलिगेट्सको मत महत्वपूर्ण हुने र जुलाईको पार्टी अधिवेशनपछि मात्रै त्यसको मतदान हुने उहाँको भनाई छ ।