एजेन्सी ,४ जेठ ।
अमेरिका लगायतका विश्वका शक्ति राष्ट्रले बिद्रोही संगठन विरुद्ध लड्नका लागि लिबिया सरकारलाई हतियार सहितका सैन्य सामग्री उपलब्ध गराउन तयार रहेको बताएका छन् ।
राष्ट्रसंघले मान्यता दिएको संयुक्त सरकारलाई बिद्रोही संगठन इस्लामिक स्टेट आइएस लगायतका विद्राही समुह विरुद्ध कारबाही अभियानमा सहयोग गर्न हतियार सहितका सैन्य सामग्री पठाउन तयार रहेको शक्ति राष्ट्रहरुले बताएका हुन् ।
अस्ट्रियाको भिएनामा भएको कार्यक्रममा अमेरिकी विदेश मन्त्री जोन केरीले लिबियाका लागि आइएस एक नयाँ चुनौती रहेको र त्यो चुनौतीलाई परास्त गर्न शक्ति राष्ट्र सहयोगका लागि तयार रहेको बताउनु भयो ।
गएको महिना लिबिया सरकारले तत्काल प्रभावकारी कदम नचालिएमा आइएसले देशको अधिकांश भाग कब्जा गर्ने खतार रहेको भन्दै सहयोगका लागि अपिल गरेको थियो ।
लिबियामा संयुक्त राष्ट्रसंघले हतियार लैजान निषेध गरेको छ । विश्व शक्ति राष्ट्रको हतियार सहितको सहयोग पुग्नका लागि राष्ट्रसंघको प्रतिबन्ध हट्नु पर्ने हुन्छ ।
लिबियमा सन् २०११ को अक्टोबरमा दशकौंसम्म शासन गरेका कर्नेल माउमर गद्दाफी सत्ताबाट हटेपछि तनावको अवस्था छ ।