एजेन्सी १ जेठ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले नाइजेरियाको बिद्रोही संगठन बोको हराम र इस्लामिक स्टेट आइएसबिच सम्बन्ध रहेको दाबी गरेको छ ।
सिरिया तथा इराक सहितका देशमा हिंसात्मक गतिविधि गरिरहेको आइएससँग बोको हरामले सहकार्य गरेको भन्दै परिषदले चिन्ता व्यक्त गरेको छ ।
यी दुई समुहबीचको सहकार्य मानवीय सुरक्षा तथा शान्ति स्थापनाका लागि ठूलो खतरा भएको राष्ट्रसंघ सुरक्षा परिषदले जनाएको छ ।
गएको वर्ष आइएससँग सम्बद्ध बोको हरामका लडाकुले पश्चिम तथा मध्य अफ्रिकामा शान्ति स्थापनामा बाधा र्पुयाएको परिषदले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
नाइजेरियामा आज बोको हराम विरुद्धको कारबाहीलाई प्रभावकारी बनाउने विषयमा सम्मेलन हुँदैछ । सम्मेलनमा नाजेरियाका राष्ट्रपति सहित छिमेकी मुलुक क्यामरुन, चाड तथा नाइजरका राष्ट्रपति सहभागी हुनेछन् ।
सम्मेलनमा फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाण्ड, बेलायती विदेशमन्त्री फिलिप हेमाण्ड तथा अमेरिकी विदेश उपमन्त्री एन्टोनी ब्लिन्केन पनि सहभागी हुने जनाइएको छ ।
नाइजेरिया तथा छिमेकी मुलुकमा गएको वर्षमा मात्र बोको हरामको आक्रमणमा परि २० हजार मानिसको ज्यान गएको थियो ।