काठमाडौ ९ वैशाख ।
विश्वका दुई अर्ब भन्दा बढी मानिस जिका भाइरसको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
विश्वका दुई अर्ब २० करोड मानिस बसोबास गर्ने क्षेत्रमा जिका भाइरस फैलन सक्ने खतरा रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
जिका भाइरसका कारण शिशुको मस्तिष्क असमान्य रुपमा सानो हुने गर्छ । दक्षिण अमेरिकाका धेरै क्षेत्रमा जिकाको संक्रमण फैलिरहेको अनुसन्धानकर्ताले पुष्टि गरेका छन् ।
अनुसन्धानकर्ताले अफ्रिका र एसियाका धेरै ठाउँमा पनि जिकाको संक्रमण हुन सक्ने खतरा रहेको बताएका छन् । यो प्रतिवेदनले जिका भाइरसको संक्रमण रोक्न केही मद्दत पुग्ने अनुसन्धनकर्ताले बताएका छन् ।
एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइका कारण जिकाको संक्रमण हुन्छ । सबैभन्दा पहिले ब्राजिलमा देखिएको जिकाको संक्रमण फैलँदै क्यारेबियन राष्ट्र, अमेरिका र दक्षिण कोरिया लगायत देशमा पुगिसकेको छ ।