एजेन्सी, चैत्र २६
बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्ना पिताको स्वामित्वमा सञ्चालित ‘अफसोर’ कारोबारबाट आफूले आर्थिक लाभ लिएको स्वीकार गरेका छन् । उनका स्वर्गीय पिता इयन क्यामरुनले ‘ब्लेयर होल्डिइन्ग्स’ नाम गरेको अफसोर कम्पनीमार्फत आर्थिक कारोबार गर्ने गरेको पानामा पेपर्सबाट खुलेको थियो । तर विवादास्पद उक्त कारोबारलाई उनले ‘निजी मामला’ भनेर पन्छिँदै आएका थिए ।
बेलायती प्रधानमन्त्रीले उक्त कारोबारबाट आफूले आर्थिक लाभ लिएको कुरालाई चर्को दबाबपछि मात्र स्वीकार गरेका हुन् । पानामा पेपर्समा उनका स्वर्गीय पिता संलग्न भएको खुलेपछि उक्त कारोबारमा उनी संलग्न भए/नभएको प्रष्ट पार्न उनीमाथि दबाब बढ्दै गएको थियो । विगत तीन दिनमा उनले चार पटक आफ्नो भनाई राखे पनि प्रष्ट उत्तर भने दिएका थिएनन् । चौतर्फी दबाब बढेपछि उनले पिताको कारोबारबाट लाभ लिएको स्वीकार गर्न बाध्य भए ।
पिता इयन क्यामरुनले चलाएको उक्त कोषमा आफ्नो र श्रीमती सामन्थाको सन् १९९७ देखि शेयर रहेको र सन् २०१० मा प्रधानमन्त्री कार्यालय छिर्नु अघि त्यसलाई ३१,५०० पाउण्डमा बेचेको उनले बताए । उक्त शेयर बेच्दा उनलाई १९,००० पाउण्ड फाइदा भएको उनको भनाई छ । उक्त लगानीबाट प्राप्त लाभांशको कर सरकारलाई तिरेको, तर पूँजीगत लाभ कर तिर्नुपर्ने नभएको उनको भनाई रहेको छ ।
स्वार्थ बाँझिने आरोप लाग्न सक्ने हुनाले प्रधानमन्त्री हुनुअघि आफूले उक्त शेयर बेचेको उनले बताए । तर प्रधानमन्त्री क्यामरुनले दिएको नयाँ स्पष्टिकरणले उक्त विवाद अन्त्य गर्ने सम्भावना भने छैन । विपक्षी नेताहरूले प्रधानमन्त्री क्यारुनले तत्काल नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागसमेत यसअघि नै गरिसकेका छन् ।