एजेन्सी, चैत्र १६
इजिप्टको राजधानी कायरोबाट अपहरणमा परेको एयरबस ए–३२० छुटाउने प्रयास सफल भएको छ । सो विमान अपहरण गर्ने इब्राहिम सामाहाले व्यक्तिगत कारणले विमान अपहरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ ।
प्राप्त पछिल्लो जानकारीअनुसार विमानमा सवार सबै यात्रुहरूलाई रिहा गरिसकेकोसमेत विदेशी सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
साइप्रस ब्रोडकास्टिङ सीबाईबीसीले दिएको जानकारीअनुसार विमान अपहरणकारी सामाहाले साइप्रसमा रहेकी आफ्ना पूर्व श्रीमतीलाई चिठ्ठी पठाउन चाहेको र त्यसका लागि विमान अपरहण गर्नुपरेको उल्लेख गरिएको छ । सामाहाले अरबी भाषामा लेखिएको चिठ्ठी विमानबाट बाहिर जमिनमा फ्याकेको र त्यसलाई आफ्नी पूर्व श्रीमतीसम्म पुर्याउन भनेको त्यहाँ उपस्थित प्रत्यक्षदर्शीले बताएका छन् । उनले साइप्रसमा शरण दिनुपर्ने मागसमेत सो चिठ्ठीमार्फत राखेका थिए ।
सामाहाले आफ्नो माग सञ्चारमाध्यमसम्म पुर्याउन दोभाषेको प्रयोग गरेका थिए । अपरहणकारीको नाम इब्राहिम सामाहा रहेको कुरा सरकारी सञ्चारमाध्यमले जनाएको छ ।