एजेन्सी, चैत्र १३
बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थलमा आत्मघाती बम विष्फोट गराउने एक आक्रमणकारीको डीएनए पेरिसमा भेटिएको बेल्जियमका अधिकारीहरूले दाबी गरेका छन् ।
गत मंगलबार ब्रसेल्सको जवेन्टम विमानस्थलमा आत्मघाती आक्रमण गर्ने नाजिम लाचाराओइको डीएनए गत नोभेम्बरमा नै फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणस्थलमा भेटिएको अधिकारीहरूको दाबी रहेको छ ।
आक्रमणमा संलग्न भएको आरोपमा ब्रसेल्सबाट थप तीन जना पक्राउ परेपछि बेल्जियमका अधिकारीले विमानस्थलमा आत्मघाती विष्फोट गराउने दोश्रो व्यक्तिको नाम सार्वजनिक गर्दै उनको डीएनए पेरिसमा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
बेल्जियम, जर्मनी र फ्रान्समा गरी अहिलेसम्म आक्रमणमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरिएको छ । गएको मंगलबार ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेशनमा भएको विष्फोटमा परी ३१ जनाको ज्यान गएको थियो ।
जवेन्टम विमानस्थलमा ब्राहिम अल बकारु र लाचाराओइ आफैँलाई विष्फोट गराएका थिए । यस्तै मेट्रो स्टेशनमा खालिद अल बकारुले विष्फोट गराएका थिए ।