एजेन्सी चैत्र १२ । पाकिस्तानको बलुचिस्तानमा एक जना भारतीय जासुसी संस्था रअका आधिकारीलाई पाकिस्तानी सुरक्षा फौजले पक्राउ गरेको छ । ती जासुसले स्थानीय पृथकतावादी समुहलाई सहयोग गरीरहेको बताईएको छ ।
पाकिस्तानी सरकारी अधिकारीहरुले यो बलुचिस्तानको हिंशामा भारतीय हस्तक्षेपको स्पष्ट प्रमाण भएको भन्दै आपत्ति जनाएका छन् । यद्यपि यस विषयमा भारतले कुनै प्रतिकृया दिएको छैन ।बलुचिस्तानका गृहमन्त्री मिर सर्फराज बुगतीले रअका सेवामा रहेका अधिकृत पक्राउ गरिएको बताए ।
पहिले देखि नै आफूले रअले बलुचिस्तानमा हिंशा मच्चाउन काम गरीरहेको दावी गर्दै आएको स्मरण गर्दै अहिले यो भन्दा ठूलो प्रमाण अरु नहुने बुगतीले बताए ।
पाकिस्तानका सञ्चार माध्यमहरुले भने पक्राउ परेका ती जासुस भारतीय नौसेनामा कार्यरत भएको बताएका छन् ।
यो प्रकरणले पाकिस्तानको आन्तरीक मामलामा भारतले खेलीरहेको अपारदर्शी षड्यन्त्रहरु पर्दाफास भएको केही स्थानीय सञ्चार माध्यमले टिप्पणी गरेका छन् ।
