‘साउदीमा तत्काल महिला कामदार नपठाऊ’

‘साउदीमा तत्काल महिला कामदार नपठाऊ’

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

साउदी अरब, १२ फागुन । नेपाल सरकारले साउदी अरबसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाइरहेकै बेला गैरआवासीय नेपाली सङ्घ (एनआरएन) साउदीले भने घरेलु महिला कामदार नपठाउन तथा यसबारे श्रम सम्झौता अघि नबढाउन आग्रह गरेको छ ।

पछिल्लो समय रोजगारीका लागि साउदी अरब आउने पुरुष कामदारले नै विभिन्न समस्या भोग्नुपरिरहेको अवस्थामा महिला कामदार पठाइए समस्या झन् जटिल बन्ने भन्दै सङ्घले सो प्रक्रिया अघि नबढाउन सरकारसँग आग्रह गरेको हो ।

सङ्घले यहाँ आउने घरेलु महिला कामदार शारीरिक, मानसिक तथा यौन हिंसालगायतका घटनाबाट प्रताडित बनिरहेकै अवस्थामा महिला कामदार पठाउनका लागि अघि बढाइएको श्रम सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा महिला कामदारका लागि साउदी अरब उपयुक्त गन्तव्य नभएको बताएको छ ।

सङ्घका अध्यक्ष नारायण पासवान तथा महासचिव तेज थापाद्वारा जारी विज्ञप्तिमा घरेलु महिला कामदार पठाउने कार्य तत्काल रोक्न र घरेलु महिला कामदारसम्बन्धी श्रम सम्झौता नगर्न भनिएको छ ।

साउदी अरबमा नेपाली महिला घरेलु कामदारका रूपमा ल्याउने प्रक्रिया र सम्झौता तत्काल अघि नबढाउन सङ्घले यसअघि श्रम मन्त्रालय, नेपाल वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय तथा साउदीस्थित नेपाली राजदूतावासलाई ध्यानाकर्षण पत्रसमेत बुझाइसकेको सङ्घका अध्यक्ष पासवानले बताउनुभयो ।

सरकारले साउदी अरबसँग गर्न लागेको सामान्य पुरुष कामदार (जनरल लेबर एग्रीमेन्ट) तथा घरेलु (महिला) कामदार गरी दुवै खाले श्रम सम्झौता प्रक्रिया अगाडि बढेको जनाएको थियो ।

साउदी अरबमा घरेलु महिला कामदारमाथि शारीरिक, मानसिक तथा यौन हिंसाका घटनामा वृद्धि भएपछि सरकारले हाल साउदी आउन घरेलु महिला कामदारलाई प्रतिबन्ध लगाएको जनाए पनि दलालमार्फत गैरकानुनी बाटो भएर साउदी आउने क्रम रोकिएको छैन ।

आप्रवासी महिला कामदारलाई असुरक्षित, अमर्यादित काममा लगाइनु, तलब सेवा सुविधाबाट वञ्चित गरिनु तथा बन्दी जीवन बिताउनुपर्नेलगायतका समस्याका कारण अन्य देशले समेत महिला कामदार पठाउन बन्देज लगाएपछि हाल साउदी अरबमा महिला कामदारको ठूलो माग रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी