एजेन्सी,१० फागुन ।
भारतको उत्तरी राज्य हरियाणामा जारी जाट समुदायको आन्दोलनमा मुत्यु हुनेको संख्या १२ पुगेको छ । १ सय ५० जना घाइते भएका छन । हरियाणाका प्रहरी डिजिपी वाईपी सिंघलका अनुसार हिंसा भड्काएको आरोपमा १ सय ९१ आन्दोलनकारीविरुद्ध उजुरी दर्ता गरिएको छ।
जाट समुदाय आरक्षण सुविधा माग्दै गत शुक्रबारयता आन्दोलनरत छ । भारतको सर्वोच्च अदालत सुप्रिम कोर्टले जाट समुदायको आरक्षणसम्बन्धी मामिलामा फैसला गर्दै आरक्षण दिन अस्वीकार गरिसकेको छ ।
हरियाणाको सोनिपतमा सेना परिचालन र हवाई गस्ती गरिए पनि दुई वटा प्रहरी चौकी, कैयौं पसल र बैंकका एटिएममा आगो लगाइएको छ । दिल्ली, पन्जाब, हिमाचल प्रदेश, जम्मु कास्मिर, राजस्थान र चंडिगढसहित छिमेकी राज्यसँग हरियाणाका सडक र रेल यातायात ठप्प भएका भारतीय संचार माध्यमले जनाएका छन ।
हरियाणाबाट दिल्ली आउने कैयौं राजमार्गमा हजारौ सर्वसाधारण फसेका छन । हरियाणामा जारी आन्दोलनका कारण राजधानी दिल्लीमा खानेपानीको हाहाकार भएको छ । नयाँ दिल्लीमा खानेपानी आपूर्ति हुने हरियाणाको मुनक नहरमा आन्दोलनकारीले गरेको नियन्त्रणका कारण राजधानीमा खानेपानीको आपूर्ति ठप्प भएपछि समस्या उत्पन्न भएको छ । खानेपानी संकटका कारण आज दिल्लीका सबै स्कुल बन्द भएका छन ।