सोलुखुम्बु, १० फागुन ।
सोलुखुम्बुको अत्यन्तै विकट गाविस गुदेलमा नियमित भिडियो एक्स–रे सेवा पाएपछि त्यस क्षेत्रका गर्भवती लाभान्वित भएका छन् ।
गर्भ परीक्षण गराउनुपर्छ भन्ने जानकारीसमेत नपाएका त्यस क्षेत्रका महिला अहिले गाउँमै भिडियो एक्स–रे गराउँछन् । गुदेल–४ निवासी दुर्गीमणि कुलुङले यसअघि पाँच छोराछोरी जन्माउँदा भिडियो एक्स–रे भनेको के हो थाहा थिएन । तर यो पटक गर्भ परीक्षण गराउन पाउँदा खुसी हुनुभएको छ ।
उहाँ भन्नुहुन्छ – “यसपालि त गाउँकै हेल्थपोस्टमा बच्चा जाँच गरिएको छ, सिस्टरहरुले भन्नुभएको, राम्रो छ रे, पहिले पहिले ख्यालै हुँदैन थियो, अहिले खुसी छु ।”
अहिलेसम्म विद्युत् सेवा नपुगेको सदरमुकामबाट २२ कोश टाढा गुदेल गाविस पुग्न चाँडो हिँड्नेलाई पनि दुई दिन लाग्छ । एक दिन टाढा प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा भिडियो एक्स–रे सेवा भए पनि त्यहाँ पनि गुदेलबाट कोही गर्भवती जाँदैन थिए ।
गाविसभरिका आमाले गर्भजाँच गर्न नपाएपछि जिल्ला स्वास्थ्य कार्यालयले सोताङबाट उपकरणसहित हरेक दुई महिनामा स्वास्थ्यकर्मी गुदेल गएर भिडियो एक्स–रेलगायत गर्भ परीक्षण सेवा उपलब्ध गराउन थालेको हो ।
दुई वर्ष अघिदेखि यो सेवा सञ्चालन भएपछि गाउँका धेरैजसो महिलाले गर्भपरीक्षण गराउन थालेको गुदेल स्वास्थ्य चौकीका अनमी हरिधनी कुलुङ बताउनुहुन्छ । भिडियो एक्स–रेका लागि ब्याट्री चार्ज गर्न मिल्ने करिब दुई केजीको यन्त्र छ । चार्ज गर्न मिल्ने भएको कारण अझ सहज छ ।
गुदेल–४ निवासी इन्द्रमाया कुलुङ पनि भिडियो एक्स–रे सेवा लिन पाएपछि खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ – “पहिले त भिडियो एक्स–रे भन्ने थाहा थिएन, अब त एक दिन हिँडेर सोताङ पुगेर भए पनि भिडियो एक्स–रे गराउँछौँ, यसबाट पेटमा रहेको बच्चाको अवस्था थाहा पाएर डाक्टरले सुझाव दिँदा रहेछन्, अकालमा मर्न नपर्ने रहेछ ।”
गुदेल–४ की देवीका कुलुङ आफ्नो पहिलो गर्भ नै परीक्षण गर्न पाएकोमा खुसी हुँदै भन्नुहुन्छ – “पहिले गाउँमा बर्सेनि दुई तीनजना आमा बन्ने बेलामा ज्यान गुमाउँथे तर अहिले डाक्टरले बच्चा जाँच गरेर सल्लाह दिन्छन्, मरिन्छ कि भन्ने डर कम भएको छ ।”
दुई वर्षअघिदेखि गुदेलमा हरेक दुई महिनामा दिन थालिएको भिडियो एक्स–रे सेवा त्यहाँका महिलाका लागि बरदान नै सावित भएको छ । पेटमा भएको बच्चाको अवस्था मात्र हैन भिडियो एक्स–रे गर्न गएका महिलालाई स्वास्थ्यकर्मीले पोषणयुक्त खाना खानुपर्ने, सरसफाइ गर्नुपर्ने, गह्रौँ भारी बोक्न नहुनेजस्ता कुरा पनि सिकाउँछन्, यसबाट महिलाको व्यवहारमा समेत सुधार भएको गुदेल स्वास्थ्य चौकीकी अनमी हरिधनी कुलुङ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – “गर्भ रहँदा के के गर्नुपर्छ, के गर्न हुन्छ र के हुँदैन भनेर सामान्य जानकारीसमेत नभएका र परम्परागतरुपमा सुत्केरी हुँदै आएका यहाँका महिलालाई अझ धेरै सेवा र ज्ञानको अभाव छ, तर गाउँमा भिडियो एक्स–रे गर्न थालेपछि त्यसमा सुधार भने हुन थालेको छ ।”