नयाँ दिल्ली, ९ फागुन ।
हरियाणा राज्यमा जारी ‘जाट आन्दोलन’ का कारण भारतको राजधानी नयाँ दिल्लीमा पानीको हाहाकार भएको छ । जाट आन्दोलनकै कारण दिल्लीमा पानी आपूर्ति अवरुद्ध भएपछि पानीको हाहाकार भएको हो । दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले हरियाणा राज्य सरकारलाई दिल्लीका लागि निर्वाध पानी आपूर्तिको व्यवस्था गर्न आग्रह समेत गर्नुभएको छ ।
दिल्लीमा आज पानीको हाहाकारलाई ध्यानमा राख्दैसबै विद्यालय बन्द गरीएका छन । दिल्ली सरकारले आज आपतकालिन बैठकमार्फत दिल्लीमा पानीको संकटबारे छलफल गरेको छ ।
जाट आन्दोलनकारीहरुले शनिबार दिल्लीतर्फ पानी आउने ‘मुनक नहर’ को ढोका बन्द गरिदिएका हुन् । सो नहरबाट प्रत्येक दिन हरियाणा हुँदै दिल्लीका लागि एक हजार ८५ क्यूसेक पानी आउने गरेको थियो ।
जाट आन्दोलनकै कारण सवारी साधन अवरुद्ध हुँदा दिल्लीका लागि तरकारीको समेत अभाव भएको छ ।
यसैबिच जाट आन्दोलनमा मारिनेको संख्या १० पुगेको छ ।हरियाणाको झज्जरमा सेना र आन्दोलनकारीबीच भएको भिडन्तमा उनीहरुको मृत्यु भएको हो । आन्दोलन हिंसात्मक बनेपछि सेना परिचालन गरिनुका साथै विभिन्न स्थानमा कफ्र्य आदेश जारी गरिएको छ ।
यसअघि आन्दोलनकारीले हरियाणाको रोहतकमा राज्यका अर्थ मन्त्रीको घरमै आगजनी गरेका थिए । उग्र प्रदर्शनबाट सडक र रेल यातायातमा असर परेको छ । हरियाणाका विभिन्न जिल्लामा एक सातादेखि जारी जाट आन्दोलनका कारण एक सयभन्दा बढी रेल गाडीको सेवा बन्द गरिएको छ ।