एजेन्सी ३ फागुन ।
मलेसिया सरकारले गैरकानूनी विदेशी कामदारका लागि घोषणा गरेको ‘पुन रोजगारी तथा स्थानान्तरण’ कार्यक्रम आजबाट सुरु गरेको छ ।
मलेसियाको गृह मन्त्रालयले विभिन्न मापदण्ड बनाएर काम सुरु गरेको हो । झण्डै २० लाख आप्रवासी कामदार गैरकानूनी रुपमा कार्यरत रहेको अनुमान गर्दै सरकारले उनीहरुलाई वैध बनाउन पुन रोजगारी दिने प्रक्रिया थालेको हो ।
मापदण्ड अनुसार कामदार गैरकानूनी भएको कम्तिमा ६ महिना भइसकेको हुनुपर्ने, आपराधिक गतिविधिमा संलग्न नभएको, राहदानीको म्याद कम्तिमा ६ महिना रहेको, सोसल भिजिटमा रहेको र ओभरस्टे भए भिसा सकिएको ६ महिना हुनुपर्ने तथा संयुक्त राष्ट्र संघमार्फत शरणार्थी परिचयपत्र नलिएको हुनुपर्ने छ ।
मलेसियामा गैरकानूनी कामदारको संख्या बढेपछि सरकारले वैध बनाउँदै कामदार पुर्ति गर्ने विकल्प अघि सारेको हो । यस अघि पटक पटक आममाफी तथा वैधता दिएपनि अझै गैरकानुनी कामदारको समस्या हल हुन सकेको छैन् ।
गैरकानुनी ढंगले मलेसिया प्रवेश गरेका कामदारले यो प्रक्रियामा सामेल हुन पाउने छैनन् । वैधानिकता पाउन मापदण्ड पूरा नभएका कामदारलाई स्वदेश फिर्ता पठाइने मलेसिया सरकारले जनाएको छ ।
यो कार्यक्रम आउँदो डिसेम्बर ३१ सम्म चल्नेछ । तर सुरुको ३ महिना प्रारम्भिक चरणका रुपमा रहनेछ ।