एजेन्सी २ फागुन ।
पछिल्लो समय पश्चिमी मुलुकहरुमा महामारीको रुपमा फैलिदै गएको जिका भाइसर संक्रम र यसबाट बच्ने उपाय बारे जानकारी गराउन ब्राजिल सरकारले देशभर दुई लाख सैनिक परिचालन गरेको छ ।
अभियानमा खटाइएका सैनिकले भाइरसको संक्रमण र बच्ने उपाय लेखिएको पर्चासहित सर्वसाधारण नागरिकको घर घरमा गएर उनीहरुलाई जिका भाइरसका बारेमा जानकारी गराउने छन् ।
ल्याटिन अमेरिकी देशमा महामारिको रुपमा फैलिएको जिका भाइरसका कारण ब्राजिल सबै भन्दा बढी प्रभावित भएको छ । ब्राजिलमा हालसम्म चार सय ६२ जनामा यसको संक्रमण पुष्टी भएको छ ।
यस्तै तीन हजार ८ सय ५२ जनालाई संक्रमणको आशंकामा परीक्षण भइरहेको ब्राजिल सरकारले जनाएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको जिका भाइरस ल्याटिन अमेरिकी तथा क्यारवियन देशसँग अमेरिका, बेलायत तथा चीनमा पनि भेटिएको छ ।