काठमाडौँ, १४ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल खेलाडीलाई सधँै ‘च्याम्पियन’ भएर सम्मानका लागि आफूलाई मौका दिन आग्रह गर्नुभएको छ ।
बङ्गलादेशमा हालै सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान गर्दै उहाँले टोलीका खेलाडीलाई प्रतिप्रश्न गर्दै भन्नुभयो, “तपाइँहरुलाई यसरी नै सम्मान गरिरहन पाउँ ।
प्रधानमन्त्री ओलीले २३ वर्षको अन्तरालपछि नेपाली टोलीले उपाधि जिताएर यसअघि लागेका खेल मिलेमतो (म्याच फिक्सिङ) लगायतका लज्जा बिर्साउँदै सम्पूर्ण फुटबललाई नै माथि उठाएको बताउनुभयो ।
- प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बङगबन्धु गोल्डकप उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीलाई बिहीबार सम्मान गर्नुहुँदै । तस्बिर :प्रदीपराज वन्त
युवा फुटबल खेलाडीमा जितको भोक चढिसकेकाले आसन्न दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा पनि टोलीले स्वर्णपदक जित्नमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएका उहाँले भन्नुभयो, “खेलमा जित्नैपर्छ, त्यसमा पनि नेपालले जित्नैपर्छ, त्यसैले सागमा स्वर्ण पदकको ट्रफी उचालेर आउनुहोस्, तपाइँहरुबाट देश र जनताले त्यही नै आशा गरेको छ ।”
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आर्थिक कारणले कतिपय खेलाडीको खेल र पारिवारिक जीवन कष्टपूर्ण रहेकाले आफू सुधारका लागि लागिपरेको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले ‘च्याम्पियन टोली’का खेलाडी तथा पदाधिकारीलाई दिवाभोजको आयोजना गर्नुभएको थियो ।
