काठमाडौं, ८ माघ ।
२३ वर्षको ईतिहास पछि नेपालले बंगलादेशमा सम्पन्न बगबन्धु गोल्डकपको उपाधी जीतेको छ ।
ढाकास्थित बङ्गबन्धु रंगशालामा भएको खेलमा नेपालले आज बहराइनलाई ३–० ले हराउदै ऐतिहासिक जीत हात पारेको हो । यो जीतसगैं नेपालले ५० हजार अमेरीकी डलर सहित ट्रफी हात पार्यो । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले नेपाली टिमलाई ट्रफी हस्तान्तरण गर्नु भएको थियो ।
उहाले बंगलादेशमा फुटबलप्रतिको लोकप्रियता बढ्दै गएको भन्दै च्याम्पियन हुने हिमालयको देश नेपाललाई बधाई छ भन्नु भयो । आज आक्रमक शुरुवात गरेको नेपालका लागि चौथो मिनेटमै बिमल घर्ती मगरले अग्रता दिलाएका थिए ।
अन्जन विष्टले प्रहार गरेको हेड बहराईनका किपरले पञ्च गरेर फर्किएको बललाई बिमलले गोलमा परिणत गरेका थिए । त्यस पछि दोस्रो गोल बिशाल राईले गरे । बिमलले दिएको साईड क्रसलाई उत्कृष्ट रुपमा रिसिभ गर्दै गोल लाईन नजिकबाट दिएको पासलाई बिशालले जाली चुमाए पछि नेपाल जीत तर्फ अघि बढेको थियो ।
त्यस पछि ईन्जुरी समयमा बहराईनका किपर समेत अघि बढेर गल्ती गर्दा बिमलले पोष्ट तर्फ गरेको प्रहारलाई नवयुगले हेड मार्फत गोलमा परिणत गरेका थिए । पहिलो हाफ्को चौथो मिनेटमै बिमल घर्ती मगरले नेपालका लागि आकर्षक गोल गरे । अञ्जन विष्टको हेड प्रहारलाई बहराईनका गोल किपरले पञ्च गरेर फर्किएको बललाई बिमलले गोलको दिशा दिएका थिए ।
बहराईनले प्रहार गरेको पटक पटकको गोल प्रयासलाई नेपाली गोल किपर विकेश कुथुले आकर्षक बचाउ गरेका थिए । माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको नेपाल आज थप प्रभावशाली खेल पस्कन सफल भएको थियो ।
यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा करिब १२ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । लगातार १० खेलमा नेपालले एउटा पनि गोल गर्न सकेको थिएन ।
यसैविच बंलादेशमा सम्पन्न बंगबन्धु कपका विजेता खेलाडीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिइने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । नेपालले बहराइनलाई ३ गोलले हराएर कप जितेलगत्तै परिषदका सदस्यसचिव केशवराज विष्टले सो घोषणा गरेका हुन् ।