किन आफ्नो भवन छोडेर भाडामा बस्छ यातायात कार्यलय झापा ?

किन आफ्नो भवन छोडेर भाडामा बस्छ यातायात कार्यलय झापा ?

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

भाडाको घरमा सरकारी कार्यालय । कर्मचारीलाई काम गर्न सहज पक्कै छैन । कार्यालय सरकारी भएपनि हेर्दै अस्तव्यस्त छ । हरेक कुराको असुविधा । न पार्किङको व्यवस्था छ, न कर्मचारीलाई काम गर्ने सहज वातावरण नै । साँघुरो दुईतले घरमा रहेको कार्यालयमा सेवाग्राहीको बाक्लो भिड देखिन्छ । काम गराउन ओल्लो र पल्लो कोठा चहार्दैमा उनीहरुको दिन बित्छ । प्रसङ्ग बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेचीको हो । सुविधासम्पन्न नयाँ भवन बनेकै चार महिना बितिसक्यो । तर, कार्यालय नयाँ भवनमा सर्दैन । आफ्नै नयाँ भवनमा नसरेर पुरानै भवनमा महिनैपिच्छे २७ हजार रुपैयाँ भाडा तिरेर बस्नुको कारण के होला ?

बिर्तामोड । यातायात कार्यालयको नयाँ भवनमा विद्युत जडान भएको छैन । कार्यालयले इन्टरनेट पनि जडान गर्न सकेन । नयाँ भवन रहेको स्थानमा ‘टु फेस’ तार मात्र भएका कारण कार्यालयका लागि छुट्टै ट्रान्सफर्मर आवश्यक छ । जसका लागि यातायातले बिर्तामोडस्थित विद्युत प्रधिकरणमा ४० केभीए क्षमताको ट्रान्सफर्मर माग गरेको छ । ट्रान्सफर्मर यातायात कार्यालयले आफैँ खरिद गर्नुपर्ने प्राधिकरणले बताएपछि बल्ल प्रक्रिया अघि बढ्यो ।
‘हामीले विभागमा पत्र पठाइसकेका छौँ,’ प्राधिकरणका प्रमुख राजीवकुमार सिंहले भने, ‘तर, यातायातले हामीलाई कन्सट्रक्सन बापतको रकम तिर्न बाँकी नै छ ।’ प्राधिकरण स्रोतका अनुसार कन्सट्रक्सन बापत यातायातले प्राधिकरणलाई ३ लाख ७ हजार रुपैयाँ बुझाउनु पर्नेछ । ट्रान्सफर्मर आएपछि जडानको सम्पूर्ण खर्च यातायातले नै बेहोर्नुपर्ने प्राधिकरणका कर्मचारी बताउँछन् । ट्रान्सफर्मर आए पनि यातायातले प्राधिकरणको नबिल बैङ्कको खाता नम्बर २१०१०१७५००२४८ मा पैसा जम्मा नगरेसम्म काम अघि नबढ्ने प्राधिकरण प्रमुख सिंह बताउँछन् ।
तर, यातायात कार्यालयका प्रमुख जनार्दन घिमिरेलाई यो कुरा थाहै रहेनछ । उनले भने, ‘प्राधिकरणलाई हामीले पैसा तिर्नुपर्छ भन्ने मलाई थाहा छैन ।’ यातायातको नयाँ भवन हाल कार्यालय रहेको स्थानबाट लगभग ५०० मिटर दक्षिण शान्त वातावरणमा छ । नयाँ भवनको छेउमै गणपति भेनियर उद्योग छ । सोही उद्योगबाट बिजुलीको सानो तार तानेर पानी तान्ने मोटर चलाइँदैछ । भेनियर उद्योगमा यातायातले आफ्नो छुट्टै सबमिटर राखेको छ । शनिबारसम्ममा मिटरमा २१९ युनिट उठेको देखिन्छ ।
कार्यालय नयाँ भवनमा सर्नुपर्ने माग राख्दै केही कर्मचारीले कार्यालय प्रमुख भट्टराईलाई पटक–पटक दबाब दिए । तर, उनी कर्मचारीसँग यसबारेमा केही बोल्दैनन् । झन्डै आधाभन्दा बढी कर्मचारी नयाँ भवनमा सर्न नचाहेको यातायात स्रोत बताउँछ । हालको भवनमा बिचौलियाहरु कर्मचारीसरह नै काम गरिरहेका छन् । ‘कार्यालय नयाँ भवनमा सरेपछि यहाँको जस्तो सहज उनीहरुलाई पक्कै हुँदैन,’ स्रोत भन्छ, ‘बिचौलियाले चलखेल गर्न नपाउँदा धेरै कर्मचारीले पैसा खेलाउनका लागि तलब पाउने दिनलाई नै पर्खिनुपर्छ । कर्मचारीले नै सर्न नमानेपछि कसरी सर्छ त कार्यालय ?’

केही कर्मचारी भने नयाँ भवनमा सर्न चाहन्छन् । कार्यालयमा फाँटहरु छुट्टाछुट्टै चलाउन गाह्रो भएकाले ३ जना शाखा अधिकृतहरु एउटै कोठा (९ नम्बर)मा बसेर काम गरिरहेका छन् ।
लामो समय भाडाको घरमा कार्यालय सञ्चालन गर्नुको पीडा कति हुन्छ ? सहजै अनुमान लगाउन सकिन्छ । तर, यातायात कार्यालय भने चिटिक्क परेको आफ्नै नयाँ भवन हुँदाहुँदै पनि भाडाकै घरमा रमाउँदैछ, किन ? ‘समस्या विद्युत्को हो,’ कार्यालयका शाखा अधिकृत टङ्क कार्की भन्छन्, ‘नयाँ भवनमा विद्युत् जडान भएको छैन । सिफारिस चाहिँ विभागमा पुगिसकेको छ ।’

कार्यालय प्रमुख भट्टराई भने कार्यालयमा भेटिएनन् । टेलिफोनमा उनी खुलेर कुरा गर्न चाहेनन् । ‘नाकाबन्दीको असर पनि हो,’ शाखा अधिकृत कार्कीले भने, ‘नयाँ ट्रान्समिटर चाहिन्छ भन्ने कुरा नै थाहा थिएन हामीलाई त ।’ कर्मचारीहरु नै नयाँ भवनमा सर्न नचाहेको कुरा गलत भएको कार्की बताउँछन् । नयाँ भवनमा १ महिनाभित्रमा सरिसक्ने उनको दाबी छ ।

‘मोटरसाइकलको लाइसेन्स लिनेको चाप ह्वात्तै बढ्छ,’ शाखा अधिकृत कार्की भन्छन्, ‘यहाँ ठाउँ साह्रै साँघुरो छ । आफ्नै भवनमा सर्न पाए धेरै कुरा व्यवस्थित गर्न सकिन्थ्यो । हामी आफैँलाई कहिले सरौँ भइसकेको छ ।’ दुई तले नयाँ भवन दुई कठ्ठा क्षेत्रफलमा छ । गत असोजमै नयाँ भवनमा सर्ने तयारी गरिए पनि कर्मचारीहरुको किचलोका कारण नसरेको स्रोत बताउँछ ।

कार्यालय हालको ‘कामचलाउ’ भवनमा आएको कति वर्ष भयो भन्ने कुरा त्यहाँका कर्मचारीलाई नै थाहा छैन । यसबारेमा सोध्दा उनीहरु अल्मलिए । बिर्तामोडका पुराना बासिन्दा एवम् वरिष्ठ अधिवक्ता लीला उदासीका अनुसार कार्यालय वि.सं २०४२÷४३ तिर कनकाई रोड पूर्व (हालको कनकाई हस्पिटलको छेउमा) थियो । ‘त्यहाँबाट साविक चारपाने–१ स्थित राजन थापाको घरमा कार्यालय आयो,’ उदासीले भने, ‘०५४÷५५ तिर अहिले रहेको भवनमा सरेको हुनुपर्छ ।’ हाल कार्यालय रहेको घर सुनिता बस्नेतको नाममा रहेको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी