एजेन्सी १५ पौष ।
अमेरिका नेतृृत्वको गठबन्धन सेनाले इराक र सिरियामा गरेको हवाई आक्रमणमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका १० जना कमाण्डर मारिएका छन् ।
पछिल्ला एक महिनामा भएको हवाई आक्रमणको क्रममा फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणका योजनाकारसहित १० आइएस कमाण्डर मारिएको अमेरिकी सेनालाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
हवाई आक्रमणको क्रममा पेरिस आक्रमणको योजनामा संलग्न शराफ अल मुदान मारिएको अमेरिकी सेनाका प्रवक्ता कर्नेल स्टिव वारेनले जानकारी दिनुभयो । मुदान र पेरिस आक्रमणमा संलग्न अब्देलहमिद अबाउदबिच सम्पर्क रहेको वारेनले बताउनुभयो ।
मुदान २४ डिसेम्बरमा भएको आक्रमणको क्रममा मारिएको अमेरिकी सेनाले जनाएको छ । यस्तै १० डिसेम्बरमा भएको हवाई आक्रमणको क्रममा बेलायतमा अध्ययन गरेका बंगलादेशी कम्प्युटर इन्जिनियरको ज्यान गएको थियो ।
उनी आइएसका लागि काम गर्दै आएका थिए । नोभेम्बर १३ मा पेरिसमा भएको आक्रमणमा परि एक सय ३० जनाको ज्यान गएको थियो ।