काबुल, १३ पुस ।
अफगानिस्तानको राजधानी काबुल विमानस्थलनजिकै सोमबार नेटो सैनिकको एक समूहलाई लक्ष्यगरी गरिएको कारबम विस्फोटमा एक सर्वसाधारणको मृत्यु भएको समाचार छ ।
तालिवान र सरकारबीचको शान्ति प्रक्रिया पुनः सुरु गर्ने प्रयास स्वरुप पाकिस्तानी सैनिक प्रमुखले अफगानिस्तानको एक दिने भ्रमण गर्नु भएको भोलिपल्ट यो आक्रमण भएको जनाइएको छ । विहान सवेरै भएको यस कारबम आक्रमणमा परी अन्य चार सर्वसाधारण घाइते भएका जनाएको छ ।
तालिवान आतङ्ककारीहरुले देशभरी भीषण आक्रमण सुरु गरेको यस अवस्थामा अफगानिस्तानको सुरक्षाको अवस्था कमजोर भएको जनाइएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता सेदिक सेदिकीले आफनो ट्वीटर अकाउन्टमार्फत एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार घाइते भएको पुष्टि गर्नु भएको छ ।
नेटोले यस घटानको विस्तृत विवरण भने दिएको छैन । तर घटनाको अनुसन्धान भईरहेको जनाएको छ । रासस÷एएफपी