एजेन्सी,११ पौष ।
अफगानिस्तानमा सुरक्षाबलले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध गरेको कारबाहीका क्रममा १३ जना तालिवानको मृत्यु भएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले आज विज्ञप्तिमा जारी गरी जनाएको छ । देशका विभिन्न ठाउँमा भएका आतंककारी विरुद्धका कारबाहीहरुमा ती व्यक्तिले ज्यान गुमाएका गृह मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टासम्म जारी राखेको कारबाहीमा ती तालिवान आतङ्ककारी मारिएका सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) ले बादख्सान, कान्दाहार, उरुजगान, हेरात र हेलमन्ड प्रान्तमा जारी सो कारबाहीको क्रममा थप १७ जना सशस्त्र तालिवान आतङ्ककारी पक्राउ परेका छन् ।
त्यस कारबाहीका क्रममा अरु केही तालिवानलाई पनि सेनाले पक्राउ गरेको पनि सो विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तानमा गत जनवरीदेखि नेटोसँग आवद्ध प्राय सैनिक फर्किसकेका छन् । हाल त्यहाँ अफगान सेनाले नै कारबाही गर्ने गरेको छ ।