याङ्गोन, १० पुस ।
म्यानमारका दुई नागरिकलाई थाइल्याण्डमा मृत्युदण्डको सजाय सुनाइएको विरोधमा शुक्रबार म्यानमारमा रहेको थाई दूतावासअगाडि प्रदर्शन भएको छ ।
म्यानमारका सयौं नागरिक थाइल्याण्डको सो निर्णयका विरुद्धमा प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले आफ्ना नागरिकलाई सुनाइएको मृत्युदण्डको सजायको विरोध गरेका छन् ।
दुई बेलायती नागरिकको हत्याको आरोपमा दुईजना म्यानमारका नागरिकलाई थाई अदालतले बिहीबार सो सजाय सुनाएको थियो ।
जा लिन र बिन जा तुनलाई दुईजना बेलायती नागरिकको हत्या गरेको आरोप लागेको थियो । लामो समयको अनुसन्धानपछि बिहीबार थाई अदालतले सो सजाय सुनाएको थियो ।
पर्यटकको यसरी भएको हत्याका कारण थाइल्याण्डमा पर्यटन व्यवसायमा असर पर्नुको साथै विदेशी नागरिकले असुरक्षाको प्रश्न उठाएको थाई सरकारले बताउँदै आएको थियो ।
सोही फैसलाको विरुद्धमा म्यानमारका नागरिकले शुक्रबार यो प्रदर्शन गरेका हुन् । शुक्रबार बिहानैदेखि म्यानमारमा रहेको थाई दूतावास बाहिर थाई सरकारका विरुद्धमा सो प्रदर्शन गरिएको हो ।