काठमाडौ ९ पौष । नाइजेरियामा तीन सय जनाको सामूहिक चिहान फेला गरेको छ ।
उत्तरी नाइजेरियाको जरियामा तीन सय भन्दा बढी शिया मुसलमानको शव एउटै चिहानमा फेला परेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच एचआरडब्लुले जनाएको छ ।
सरकारी सेनाले शिया मुसलमानको हत्या गरेर एउटै चिहानमा शव गाडेको एचआरडब्लुको प्रतिवेदनमा उल्लेख छ । यो महिनाको सुरुमा भएको संघर्षका क्रममा सरकारी सेनाले शिया समुदायको हत्या गरी परिवारका सदस्यको स्वीकृती बिना एकै ठाउँमा शव गाडेको एचआरडब्लुले जनाएको छ ।
एचआरडब्लुले प्रतिवेदन सार्वजनिक गरेलगतै विश्वभरका शिया मुसलमानले यसको विरोध गरेका छन् । इरानले शिया समुदायको सुरक्षाका लागि अपिल गरेको छ । तर नाइजेरियाको सेनाले भने आफूहरुले कसैको पनि हत्या नगरेको दाबी गरेपनि एचआरडब्लुले सेनाको भनाई गलत भएको जनाएको छ ।
सेनाको भनाई आफूहरुले गरेको अनुसन्धानसँग मेल नखाने एचआरडब्लुले जनाएको छ । यो घटनाको स्वतन्त्र न्यायीक छानविन गर्नुपर्ने एचआरडब्लुको माग छ । जरियामा भएको संघर्षमा अरु धेरै मानिसको ज्यान गएको हुन सक्ने एचआरडब्लुले जनाएको छ ।