काठमाडौ ४ पौष । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी संस्था युएनएचसिआरले शरणार्थीको व्यवस्थापनका लागि वृहत कार्यक्रमको तयारी गर्न युरोपेली नेतासँग आग्रह गरेको छ ।
सिरिया, यमन, लिबिया सहितका देशमा जारी द्वन्द्व अन्त्य नभएसम्म विस्थापितको संख्या कम गर्न नसकिने भन्दै युएनएचसिआरले त्यस तर्फ ध्यान दिन विश्वका नेतासँग आग्रह गरेको हो ।
युएनएचसिआरका प्रमुख एन्टोनियो गुतेरेशले शरणार्थीको पक्षमा अहिले भरहेका काम स्वागत योग्य भएपनि त्यो पर्याप्त नरहेको बताउनुभएको छ । ग्रिसमा शरणार्थीको आवेदन प्रक्रिया तीव्र पार्नु राम्रो भएको तर यसले मात्रै नपुग्ने उहाँको भनाई छ ।
यो वर्ष अहिलेसम्म कै धेरै मानिसले आफ्नो घर छोडेर विस्थापित भएको युएनएचसिआरले जनाएको छ । मध्य पूर्व तथा गृह युद्धबाट गुज्रिरहेका सिरिया सहितका देशबाट विस्थापित भएकाहरु युरोप गएका छन् ।
यस्ता आप्रवासीको व्यवस्थापनका लागि एक उपयुक्त कार्यक्रम र सहमतिको खाँचो रहेको युएनएचसिआरले उल्लेख गरेको छ । यस वर्षको अन्त्यसम्ममा १० लाख आप्रवासी युरोप पुग्ने अनुमान गरिएको छ ।