यसरी दिल्लीमा बेचिदैछन् नेपाली चेली ,सिमामा रोक्न कठिन

यसरी दिल्लीमा बेचिदैछन् नेपाली चेली ,सिमामा रोक्न कठिन

  • शुक्रबार, पुस ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

भीमदत्तनगर, ३ पुस ।

सिन्धुपाल्चोकको बाँसखर्क–३ की सरिता बम्जन बुधबार दिउँसो जिप्रका, कञ्चनपुरको परिसरमा अनेक बहानाबाजी गरिरहेको अवस्थामा भेटिइन् । उनको एकपछि अर्को झुटो बहानायुक्त बयानबाट जिप्रकाका प्रहरी अधिकृतदेखि माइती नेपाल कञ्चनपुरका पदाधिकारीसम्मले उनलाई किर्गिजस्तान रोजगारीका लागि लैजाने दलालबारे चाल पाउन सकिरहेका थिएनन् ।

चार दिनअघि काठमाडौँदेखि भारतको राजधानी नयाँदिल्लीसम्म जाने बसको पश्चिम नाका गड्डाचौकीमा जाँचका क्रममा सरिता आफ्ना श्रीमान् पेम्बाग्याल्को बम्जनसहित प्रहरी र माइती नेपालको फन्दामा परिन् ।

गड्डा चौकीमा नियन्त्रणमा लिनासाथ सरिताले श्रीमान्सित भारत घुम्न जान लागेको प्रहरी र माइती नेपालसमक्ष जानकारी दिइन् । तर अनुसन्धान गर्दै जाँदा सरिताको यात्रा दलालमार्फत दिल्ली हुँदै किर्गिजस्तानसम्म रहेको भन्नेसम्म खुल्न पुग्यो ।

“श्रीमान्ले पनि ‘म विदेश पठाउँदैन तँलाई’ भनेर जिद्दी गरेकै हुन्, ” प्रहरी अनुसन्धानमा रहेकी सरिताले भनिन्– “तलब धेरै पाउँछ भन्ने लोभले मैले श्रीमान्लाई पनि विदेश जान अनुमति दिन बाध्य पारेँ ।”

सरितासँगै सिन्धुपाल्चोक माङ्खा–७ की ठूलीमाया तामाङ, सिन्धुपाल्चोककै रेश्मा मगर, सङ्गीता तामाङ र खोटाङकी मीना खड्कालाई पनि माइती नेपाल कञ्चनपुरले गड्डा चौकीबाट उद्धार गरेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिइन् ।

“सबैलाई एजेन्टले राम्रैसित प्रशिक्षण गरेको रहे,” संयोजक भट्टले भनिन् – “पाँचैजना बयान फेर्नमा माहिर छन् ।” उनीहरूमध्ये चार युवतीलाई किर्गिजस्तान र एक युवतीलाई ओमन लैजान भन्दै दिल्ली लग्दै गरेको अवस्थामा उद्धार गरिएको उनले बताइन् ।

जिप्रका, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले वैदेशिक रोजगारीका नाउँका भूकम्प प्रभावित जिल्लाका युवती पश्चिमी नाका हुँदै किर्गिजस्तान, भारत, ओमन, कतारलगायतका मुलुकमा पैठारी भइरहेको स्वीकारे । “बेचबिखनमा परेका महिला÷युवती नै हामीलाई बयानमा झुक्याउँदा मुख्य दलालसम्म पुग्न मुस्किल भइरहेको छ,” खनालले भने – “दलालको गिरोहको जाल देशभर फैलिएको छ ।”

उनका अनुसार उद्धार गरिएको युवतीले सही बयान नदिँदा दलाल गिरोहसम्म पुग्न प्रहरीलाई समस्या भइरहेको छ ।

“तस्करी हुन लागेका महिला नै बयान फेर्दै हामीलाई झुक्याइरहेका हुन्छन्,” उनले भने – “भूकम्प प्रभावित क्षेत्रका महिला बढी पैसा कमाउन पाइन्छ भन्ने लोभमा पर्दैछन् ।”

दलालको सञ्जाल सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, खोटाङदेखि पश्चिमी नाका भीमदत्तनगर हुँदै भारतसम्म रहेको उनको भनाइ छ । “दलालको सञ्जाल पत्ता लगाउनै चुनौती छ,” उनले भने – “वैशाख १२ गतेको भूकम्पपछि युवती तस्करी गर्ने सजिलो नाका पश्चिम बनेको छ ।”

माइती नेपालको संरक्षणमा रहेका पाँचैजना युवती दलालको प्रलोभनमा बेचिन लागेको संयोजक भट्टको भनाइ छ । “यहाँबाट पैसा कमाउने सपना लिएर जान्छन्,” उनले भने – “त्यहाँ पुगेर चेलीहरू यौन सिकारका साथै अरू खालका यातना भोग्छन् ।”

ठूलीमाया तामाङ श्रीमान्सँग सम्बन्ध टुटेपछि माइतीमा होटल व्यवसाय गरेर गुजारा गर्दै आएको बताउँछिन् । “एघार वर्षको छोरी लिएर माइतीको आश्रयमा गाउँमै होटल चलाएर बसेकी थिएँ,” ठूलीमायाले भनिन् – “भूकम्पले माइतीघर र होटल नै ध्वस्त भएपछि बिचल्लीमा परेँ ।” ठूलीमाया भूकम्पबाट प्रताडित भए पनि उनी दाजु सोमबहादुर तामाङसँग दिल्ली घुम्न जान लागेको दाबी गर्न पछि पर्दिनन् ।

“भूकम्पको पीडासमेत लुकाएर दलालको आश्वासनले ठूलीमाया बयान फेर्दै आएकी छन्,” संयोजक भट्ट भन्छिन् – “दलालले किर्गिजस्तानमा थोरै लगानीमा आकर्षक तलब पाउने सपना बाँडेको हुनाले पनि अनेक थरि बयान आएका छन् ।”

त्यसैगरी काठमाडौँको सातदोबाटोमा सञ्जिता तामाङलाई दलालको आग्रहअनुसार दिल्ली पु¥याउन उनका श्रीमान् प्रेम तामाङसमेत जाँदै थिए । सातदोबाटोमा भाडामा बसेर गाडीको सहचालकका रूपमा काम गर्दै आएका प्रेमसँग उनकी श्रीमती सञ्जितालाई विदेश पठाउने अभिषेक तामाङको परिचयसम्म छैन ।

“डेरा छेउछाउका महिलाबाट मैले अभिषेकलाई चिनेकी हुँ,” सञ्जिताले भनिन् – “मासिक रु ३० हजार तलब पाउँछ भनेपछि म श्रीमान्लाई मनाएर विदेश जान तयार भएँ ।” विदेसिन लागेको बताए पनि उनले कुन देश जानेबारे आफूलाई कुनै जानकारी नभएको बताइन् । “नागढुङ्गामा पनि हामीहरू छक्काएर बयान दिँदै यहाँसम्म पुगेका हौँ,” उनले भने – “अब दलालको पञ्जामा कहिल्यै पर्दिनँ ।” बुधबार सिन्धुपाल्चोकबाट छोरी लिन भीमदत्तनगर पुगेका सञ्जिताका बुबा प्रेम तामाङले आफूलाई छोरी विदेसिन लागेकोबारे कुनै जानकारी नभएको बताए ।

“काठमाडौँबाट छोरीले तराई घुम्न जाँदै छु भन्यो,” उनले भने – “मैले कतै घुम्न जाँदै होलान् भन्ने सोचेर वास्ता गरिनँ ।” उनले आफू पनि भूकम्पले दुईवटा घर भत्किएपछि बिचल्लीमा परेको बताए । “आफ्नै अवस्था अहिले नाजुक बन्दै गएको छ,” उनले भने – “त्रिपालमुनि बास बसेर दिन बिताउँदैछु ।”

त्यसैगरी, सरितालाई लिन तिनका मामा दावा तामाङ भीमदत्तनगर पुगेका छन् । “सञ्जिताका बुबाले भनेपछि मैले पनि भान्जीको बारेमा थाहा पाएँ,” दावाले भने – “खै ! कसरी यहाँसम्म पुगेँ थाहा भएन ।” उनीहरू कुनै पनि हालतमा दलालबारे मुख खोल्न चाहँदैनन् ।

पश्चिम नाकामा सुरक्षा निकायको उपस्थिति कम भएकाले पनि यो दलालहरूको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको संयोजक भट्टको भनाइ छ । “पूर्वी क्षेत्रका सीमा नाकामा गरिएको कडाइ र पछिल्लो समय आन्दोलन चर्केका कारण त्यो नाकाको प्रयोग गर्न दलालहरू चाहिरहेका छैनन्,” उनले भने – “पश्चिमको नाकामा जाँच र अनुसन्धान गर्ने संयन्त्र कम छ ।”
प्रहरी प्रवक्ता खनालले गड्डा चौकीमा प्रहरी, माइती नेपाल र केआई नेपाल सक्रिय रहेको बताए । उद्धार गरिएका सबै युवती २२ देखि ३२ वर्षसम्मका छन् ।

दिल्ली रुटका बसले दलाललाई सहज

काठमाडौँ–नयाँदिल्ली र पोखरा–नयाँदिल्ली रुटमा बसहरू सञ्चालनमा आएपछि युवतीलाई वैदेशिक रोजगारीका नाउँमा तस्करी गर्ने गिरोहलाई सहज भएको छ । “काठमाडौँबाट दलालले युवतीलाई बसमा राख्छन्,” प्रवक्ता खनालले भने – “सोझै दिल्लीमा दलाल गिरोहकै सदस्यहरू युवतीलाई ‘रिसिभ’ गर्छन् ।”

उनले पछिल्लो समय पश्चिमी नाका गड्डा चौकी हुँदै काठमाडौँ, पोखरा, अर्खाघाँची, बुटवल र धनगढीका बस दिल्ली रुटमा सञ्चालन भइरहेको जानकारी दिए । “जाँच गड्डा चौकीमा मात्रै हुन्छ,” उनले भने – “प्रहरी बसमा पस्दासम्म अनेक बहाना गरेर युवतीहरू फुत्किन सफल भइहाल्छन् ।” उनले युवतीको तस्करी रोक्न राजमार्गका अन्य स्थानमा पनि निगरानी बढाउनुपर्ने आवश्यक रहेको बताए ।

देशका विभिन्न ठाउँबाट सञ्चालन हुने बसमाथि कडा निगरानी राख्न आवश्यक भएको उनको भनाइ छ । उनले भने – “गड्डा चौकीको जाँचले मात्रै पुग्दैन ।” भीमदत्तनगर, गड्डा चौकीलगायतका स्थानीय तहमा पनि दलाल गिरोहका एजेन्टहरू सक्रिय हुन सक्ने उनी बताउँछन् । “दिल्ली रुटमा चल्ने गाडीमाथि निगरानी तत्काल बढाउन जरुरी भइसक्यो,” संयोजक भट्टले भनिन् – “हामीले यिनै रुटमा चल्ने बसबाट बढी सङ्ख्यामा युवतीको उद्धार गरेका छौँ ।”

उनले सरकार तथा स्थानीय प्रशासन बसमा निगरानी बढाउने विषयमा गम्भीर नबने मानव बेचबिखन बढ्ने बताइन् । कतिपय अवस्थामा गड्डा चौकी नपुग्दै बाटोमा झरेर, सीमावर्ती भारतीय बजारबाट फेरि त्यही बस चढेर गएको समेत भेटिएको उनी बताउँछिन् । संयोजक भट्टले भनिन् – “भूकम्पपछि यो नाका बेचबिखनका लागि सुलभ बनेको छ ।”

गत वैशाखयता मात्रै सिन्धुपाल्चोक, रामेछाप, रसुवालगायतका भूकम्प प्रभावित जिल्लाका २० जनाभन्दा बढी युवतीको पश्चिम सीमा क्षेत्रमा उद्धार गरिएको माइती नेपाल, कञ्चनपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी