एजेन्सी २७ मंसिर । अफ्रिकी मुलुक बुरुण्डीमा भएको हिंसामा ८७ जनाको ज्यान गएको छ ।
राजधानी बुजुमबुरामा भएको हिंसामा आठ जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले बताएका छन् ।
सेनाका अनुसार बुजुमबुरामा मात्रै ३४ जनाको शव भेटिएको छ । यस्तै नायकाबिगा जिल्लाको विभिन्न सडकमा २१ जनाको शव भेटिएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएके छ ।
बुरुण्डीका अरु शहरमा पनि शव भेटिएको अधिकारीहरुले बताएका छन् । त्यहाँका स्थानीय बासिन्दाले प्रहरीले बदला लिन स्थानीय युवालाई पक्राउ गरी हत्या गरेको आरोप लगाएका छन् ।
प्रहरीले भने मारिने सबै सरकारी प्रतिष्ठानमा आक्रमण गरेको अभियोग लागेकाहरु रहेको जनाएको छ । तीन सैन्य प्रतिष्ठान नगागारा, मुसागा र मुजेजुरुमा भएको आक्रमणपछि सेनाको कारवाहीमा १२ जना बिद्रोही लडाकु मारिएको सेनाका प्रवक्ताले बताएका छन् ।
संयुक्त राष्ट्र संघका अनुसार गत अप्रिल महिनादेखि भएको हिंसामा बुरुण्डीमा दुई सय ४० जनाको ज्यान गइसकेको छ । बुरुण्डीका राष्ट्रपतिको समर्थन र विरोधमा हिंसा बढ्दै गएको छ ।