एजेन्सी २६ कार्तिक ।
टर्कीमा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात जना बालबालिका रहेका छन् । दुर्घटना स्थलबाट २७ जनाको भने जीवितै उद्दार गरेको बताइएको छ ।
समुद्रको बाटो हुँदै युरोप प्रवेश गर्न खोज्ने आप्रवासी चढेको डुंगा टर्की र ग्रिक आइल्याण्ड अफ लिसबोसको बिचभागको समुद्रमा डुबेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
यसअघि गत अप्रिलमा लिबियामा आप्रवासी चढेको डुंगा दुर्घटना हुदा झण्डै ८ सय जनाको मृत्यु भएको थियो । यस वर्ष मात्रै समुद्रको बाटो भएर आठ लाख आप्रवासी युरोप प्रवेश गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
त्यसक्रममा तीन हजार ४ सय ४० को ज्यान गएको तथा धेरै हराएको राष्ट्रसंघको तथ्यांक छ । यो वर्ष युरोप प्रवेश गर्नेमा अधिकांश सिरियाका नागरिक रहेका छन् ।
झन्डै ६ लाख ५० हजार सिरियन समुद्रको बाटो भएर युरोप प्रवेश गरेको जनाइएको छ । यस्तै नाइजेरिया, सोमालियासहितका अफ्रिकी मुलुकबाट एक लाख ५० हजार भन्दा बढी आप्रवासी युरोप प्रवेश गरेका छन् ।
यसैबीच युरोपमा आप्रवासीको बढ्दो आगमन र आप्रवासी समस्या समाधानको विकल्पका बारेमा युरोपियन युनियन र अफ्रिकन नेताबिच माल्टामा छलफल भैरहेको छ ।