एजेन्सी २२ कार्तिक ।
२५ वर्षपछि म्यानमारमा आज ऐतिहासिक आम निर्वाचन सुरु भएको छ । म्यानमारमा दशकौं लामो सैनिक शासनपछि प्रजातन्त्र बहालीका क्रममा संसदका लागि आम निर्वाचन शुरु भएको हो ।
निर्वाचनमा सैन्य समर्थित सत्तारुढ यूनियन सोलिडारिटी डेभलपमेन्ट पार्टी तथा प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको नेशनल लिग फर डेमोक्रेसी पार्टीबीच मूख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
सूकीको पार्टीले ठूलो सफलता प्राप्त गर्ने अनुमान गरिएको छ । वर्तमान सरकारले तीन करोड मतदाता रहेको यस निर्वाचनले दिने परिणामलाई स्वीकार्ने यसअघि नै प्रतिवद्धता जनाइसकेको छ ।
म्यानमारको संविधानले २५ प्रतिशत सिट सेनाका लागि आरक्षित गरेको छ । यसमा बहुमत जुटाउन सुकीको पार्टीलाई कम्तिमा ६७ प्रतिशत सिट जित्नुपर्ने आवश्यक छ ।
सन् १९९० मा भएको चुनावमा म्यानमारकी विपक्षी नेतृ आङसाङ सुकीको पार्टी एनएलडीले बहुमत ल्याए पनि सैन्य शासकले चुनावी नतिजा अस्वीकार गर्दै नेतृ सुकीलाई एक दशकभन्दा लामो समयसम्म नजरबन्दमा राखेको थियो ।