एजेन्सी २१ कार्तिक ।
गत साता इजिप्टको सेन्आई प्रान्तमा रुसी विमान दुर्घटना हुनुको कारण बारे छानबिन गरिरहेको रुसले इजिप्टका लागि हुने सबै उडान रद्द गरेको छ ।
२ सय २४ जना सवार रुसी विमान गत सात इजिप्टको सेन्आई प्रान्तमा दुर्घटनाग्रस्त बनेको थियो । विमान दुर्घटनाको कारण यकिन नभएपनि बिमानमा बम राखिएको र त्यही बमका कारण विमान दुर्घटनाग्रस्त भएको हुन सक्ने आशंका गरिएको छ ।
रुसले इजिप्टमा हुने सबै उडान रद्द गर्नुले पनि यसलाई पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजिप्टमा बिदा मनाउन गएका सबै रुसी नागरिकलाई फिर्ता ल्याउने घोषणा पनि गर्नुभएको छ ।
इजिप्टमा हाल झण्डै ५० हजार रुसी नागरिक छुट्टी मनाउनका लागि गएका छन् । यसअघि बेलायतले पनि इजिप्टमा हुने उडान रद्द गर्नुका साथै आफ्ना नागरिकलाई इजिप्टबाट फिर्ता ल्याउने घोषणा गरेको थियो ।
बिद्रोही संगठन स्लामिक स्टेट आइएसले आफूले गरेको आक्रमणका कारण विमान दुर्घटनाग्रस्त भएको दाबी गरेको थियो । तर आइएसको दाबी रुस तथा इजिप्टले अस्वीकार गरेका थिए ।
पछिल्लो अध्ययन अनुसार विमानमा उडान भर्नु पहिलेनै बम राखिएको र त्यही बमका कारण दुर्घटना भएको आशंका गरिएको छ ।