एजेन्सी १४ कार्तिक ।
सिरियामा जारी द्वन्द्व अन्त्य गर्न विश्वका शाक्ति राष्ट्रहरु सहमति भएका छन् । अस्ट्रियाको भिएनामा भएको बहुपक्षीय वार्तामा सिरियामा लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्न सहमत भएका हुन् ।
सिरियाका राष्ट्रपति बसर अल असदको समर्थन र विपक्षमा सहयोग गर्दै आएका राष्ट्रहरुबीच द्वन्द्व अन्त्य गर्ने सहमति भएपनि राष्ट्रपति असदको भविष्यका बारेमा भने सहमति जुट्न सकेको छैन ।
वार्तामा सहभागी रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले भावी राष्ट्रपति को हुने भन्ने कुरा सिरियाका नागरिकले तय गर्ने बताउनुभयो । यता अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाप्रति अमेरिकाको नीति परिवर्तन नभएको बताउनुभयो ।
आफूहरु असहमतिका बीच सहमतिमा पुगेको बताउनु हुदै उहाँले राष्ट्रपति असदले सिरियाली नागरिकको प्रतिनिधित्व गर्न तथा सरकार चलाउन नसक्ने कुरामा जोड दिनुभएको छ ।
रुस राष्ट्रपति असदको पक्षमा छ भने अमेरिका सहितका देश असदले नागरिकको पक्षमा काम गर्न नसक्ने भन्दै उनको विकल्प खोज्नु पर्ने पक्षमा छ । अमेरिका, रुस, इरान सहतिका देशको बहुपक्षीय वार्ता दुई हप्तापछि पुनः हुनेछ ।