धन कमाउने मीठो सपना बोकेर साउदी पुगेका नेपाली अलपत्र

धन कमाउने मीठो सपना बोकेर साउदी पुगेका नेपाली अलपत्र

  • आइतवार, अशोज २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौ २४ असोज ।  

खाडी मुलुक जाने कामदारका लागि सरकारले‘फ्रि भिसा फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर साउदी आएका एक सय नेपाली अलपत्रमा परेका छन् ।

धन कमाउने मीठो सपना बोकेर रोजगारीका लागि साउदी पुगेका ती नेपालीले डेढ महिनादेखि काम पाउन नसकेपछि अलपत्रमा परेका हुन् ।

उनीहरु काठमाडौँमा रहेको गोल्डेन इगल मेनपावर, सस मेनपावर र एड्भाञ्चर हुमन रिसोर्स गरी तीन छुट्टाछुट्टै मेनपावरमार्फत रोजगारीका लागि साउदी आइपुगेका थिए ।

दुई वर्षे करार सम्झौतामा अलजजिरा सपोर्ट सर्भिस कम्पनीमा कामदारका रुपमा गएका उनीहरुले हालसम्म काम पाउन सकेका छैनन् । गत सेप्टेम्बरको १ र २ तारिखमा विभिन्न लटमा गरी साउदी पुगेका उनीहरु हराजस्थित दुईवटा क्याम्पमा बेरोजगार भएर बस्न बाध्य छन् ।

एक हजार तलब र दुई सय खानासहित १२ सय साउदी रियल तलब पाउने गरी सस मेनपावरमार्फत उक्त कम्पनीमा आएका दार्चुलाका वीरसिंह समालले आफू नराम्रोसँग ठगिएको दुःखेसो गरे ।

मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभनमा पारेर आफूसँग रु एक लाख २० हजार लिएको उनले बताए । ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने, बस्नेसम्म टुङ्गो छैन, समालले भने – “आएको दिनदेखि नै चिसो भुइँमा सुतेका छौँ ।”

पीडित समालका अनुसार कम्पनीले खानाको लागि दुई सय साउदी रियलबाहेक अहिलेसम्म केही दिएको छैन । समालसँगै आएका उदयपुरका रुद्र राउतले गोल्डेन इगल मेनपावरलाई रु एक लाख पाँच हजार बुझाएर उक्त कम्पनीमा आएको बताए ।

लाखौँ रुपैयाँ मेनपावर कम्पनीलाई बुझाएर आए पनि काम पाउन नसक्दा पीडित बन्नुपरेको राउतले गुनासो गरे । आफूसँगै उक्त क्याम्पमा रहेका एक सय नेपालीले हालसम्म काम नपाएको राउतले बताए ।

गोल्डेन इगल मेनपावरमार्फत नै साउदी अरब आइपुगेका उदयपुरका प्रदीप राउतले डेढ महिना खालीहात बस्नुपर्दा घरपरिवारसमेत तनावमा रहेको बताए ।

मासिक १२ सय रियल कमाइ हुन्छ भनेर मेनपावर कम्पनीले रु ७० हजार लिएको उनले सुनाए । “घरपरिवार छाडेर धन कमाउन भनेर विदेश त आइयो तर यहाँ, न खाने बस्ने ठेगान छ, न काम नै पाइएको छ, हामी त बिचल्लीमा परेका छौँ” – राउतले निराश हुँदै भने ।

काम लगाउने विषयमा कम्पनीले चासो नदिएपछि काठमाडौँमा रहेको मेनपावर कम्पनीलाई पटकपटक फोन ग¥र्यौं, फोन गर्दा केहीदिनमै काम मिल्छ भन्ने आश्वासन पाए पनि आजसम्म काम नपाएको राउतले दुःखेसो पोखे । उनले अगाडि थपे – “आजभोलि मेनपावर कम्पनीलाई फोन गर्दा फोन उठ्दैन, फोन उठे पनि काटिदिन्छन् । एउटा कोठामा ८–९ जनासम्म कोचिएर बसेका छौँ सुत्नका लागि ओछ्यान छैन, खाना पकाउन भाँडा छैनन्, न दाम न काम भएको छ, हामी त बर्बाद भयौँ ।”

क्याम्पमा पिउने पानीको व्यवस्था नहुँदा केही नेपाली कामदार बिरामी परेको उनले बताए । राउतका अनुसार कम्पनीले काममा लगाउन नसक्दा केही नेपाली कामदार कामको खाजीमा कम्पनी छाडेर भागेका छन् ।

यस्तै सस मेनपावरमार्फत रु ९० हजार बुझाएर सो कम्पनीमा कामदारका रुपमा आएका सिन्धुलीका सूर्य लामाले मेनपावर कम्पनीले आफूहरुलाई विदेशी भूमिमा अलपत्र पारेको बताए । कमाइ हुन नसक्दा घरपरिवारलाई फोन गर्नसमेत नपाएको उनले गुनासो गरे ।

एड्भाञ्चार हुमन रिसोर्समार्फत साउदी आइपुगेका महोत्तरीका भरत यादवले डेढ महिनादेखि काम गर्न नपाउँदा आफूहरु निकै पीडित बनेको बताए । मेनपावर कम्पनीले आफूसँग रु ९० हजार लिएर पठाएको भए पनि अहिलेसम्म काममा लगाउन नसकेको यादवले सुनाए ।

गोल्डेन इगल मेनपावरमार्फत नै साउदी आएका तेह्रथुमका हजिन्द्रबहादुर कार्कीको पीडा पनि उस्तै छ । साहुसँग ऋण लिएर रु ७८ हजार तिरेर विदेश आए पनि कमाइ हुन नसक्दा निकै अप्ठ्यारोमा परेकोे उनले बताए । काम नपाएर आफूहरु बिचल्लीमा परेको विषयमा हारगुहारका लागि कसैसँग सम्पर्क गर्न नसकिएको कार्कीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी