एजेन्सी,१९ असोज ।
यमनको दक्षिणी सहर आदेनमा रहेको एक होटलमा बस्नुभएका यमनी प्रधानमन्त्रीलाई लक्ष्यगरी रकेट आक्रमण भएको छ । सो आक्रमणबाट प्रधानमन्त्री खालिद बहाभने सकुशल रहनुभएको बताइएको छ ।
त्यसमा परी कैयौँ व्यक्ति मारिएको आशङ्का गरिएको छ । सो होटलमा भएको आक्रमणमा परी केही व्यक्ति मारिएको र अरु केही घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
प्रत्यक्षदर्शीहरुले सो आक्रमण अत्यन्तै शक्तिशाली भएको भन्दै यसबाट मारिएका व्यक्तिको शव होटलमा देखिएको बताएका छन । तर प्रहरीले भने सो होटललाई सुरक्षा घेरामा राखेर अनुसन्धान थालिएको र मारिने र घाइते हुने व्यक्तिको अवस्थाको बारेमा हालसम्म पूर्ण जानकारी नआएको बताएको छ ।
केही दिनयतादेखि प्रधानमन्त्री बहा र उहाँका केही मन्त्रीहरु यमनको सो सहरमा बस्नुभएको छ । त्यहाँ जारी रहेको हुथी विद्रोहीहरुको आक्रमणबाट तुलनात्मक रुपमा सो सहरलाई सुरक्षित ठानेर उनीहरुलाई त्यहाँ राखिएको बताइएको छ ।