एजेन्सी,१९ असोज ।
सिरियामा विगतका केही दिनदेखि जारी रहेको हवाई कारबाही तत्कालै रोक्न नेटोले रसियालाई आग्रह गरेको छ। नेटोले रसियालाई सो क्षेत्रमा गरेको कारबाही रोक्न भनेको प्राप्त समाचारमा जनाइएको छ ।
सो समाचारअनुसार हालै सुरु भएको सो कारबाही सर्वसाधारणमा लक्षित भएको नेटोले जनाएको छ । नेटोले रसियलाई सो कारबाही उसले सिरियाका विपक्षी विद्रोही तथा सर्वसधारण जनतामा मात्र केन्द्रित गरेको पाइएको भन्दै सो कारबाहीलाई इस्लामिक स्टेटका विरुद्धमा केन्द्रित गर्न पनि आग्रह गरेको बताइएको छ ।
नेटोको उत्तर एटलान्टिक परिषदको बैठक आज बसेको र सोही बैठकले रसियाली सरकारका नाममा सो आग्रह गरेको नेटोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ– उक्त कारबाही सर्वसाधारणमा केन्द्रित छ र अर्काेतर्फ यसले सिरियाली राष्ट्रपति बसार अल असादका विरुद्धमा सिरियामा जारी राखिएको विद्रोहका लडाकूलाई खोजी खोजी मारेको छ ।
यसैबीच छिमेकी टर्कीले अनुमति बिना नै आफ्नो दक्षिण पश्चिमी आकासमा रसियाले युद्धक विमान उडाएको भन्दै यदि यो कार्य नरोकिएमा यसका विरुद्ध आपूmले कडाभन्दा कडा कारबाही थाल्ने चेतावनी दिएको छ ।