काठमाडौ ४ असोज ।
ग्रिसमा सम्पन्न आम निर्वाचनमा निवर्तमान प्रधानमन्त्री एलेक्सिस सिप्रासको सिरिजा पार्टी पुनः विजयी भएको छ ।
६ वर्षको अवधिमा पाँचौं पटक भएको निर्वाचनमा सिप्रोसको पार्टी विजयी भएर फेरि सत्ता सम्हाल्ने अवसर पाएको हो ।
आर्थिक संकट गहिरिँदै गएपछि गत अगस्टमा सिप्रोसको पार्टी सिरिजाले संसदमा बहुमत गुमाएको थियो । हिजो सम्पन्न आम निर्वाचनको अधिकांश मतगणना हुँदासम्म सिरिज पार्टीले ३५ दशमलव ५ प्रतिशत मत ल्याएकोे छ ।
निकटतम प्रतिद्वन्द्वी न्यु डेमोक्रेसी पार्टीले २८ दशमलव २ प्रतिशत मत ल्याएको छ । सिप्रासका प्रतिद्वन्द्वी न्यू डेमोक्रेसी पार्टीका नेता वागेलिस मिमराकिसले निर्वाचन पराजय स्वीकार गर्नुभएको छ ।
सिरिजा पार्टीका नेता तथा प्रधानमन्त्री सिप्रोसले जित नागरिकको भएको र आफ्नो पार्टी ग्रिसमा गहिरिएको आर्थिक संकट समाधानका लागि गम्भीर भएर लाग्ने बताउनु भएको छ ।
अब बन्ने नयाँ सरकारले युरोपेली संघको राहत प्याकेजको शर्त अनुसार सुधारको कठोर योजना बनाउनु पर्नेे छ ।