दक्षिण एशियाली मुलुक श्रीलंकामा आज संसद्का लागि आम निर्वाचन भइरहेको छ ।
गत जनवरीमा सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजित पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे प्रधानमन्त्री बन्ने आकांक्षासहित मैदानमा उत्रिएका छन् ।
सात महिनाअघि आफ्नै स्वास्थ्य मन्त्री मैत्रीपाला सिरिसेनासँग पराजित राजापाक्षे २ सय २५ सदस्यीय संसदमा बहुमत जुटाई प्रधानमन्त्रीका रुपमा फेरि शक्तिमा फर्कने दाउमा छन् भने सत्तारुढ गठबन्धनले राजापाक्षेको सपना सफल हुन नदिने टिप्पणी गरेको छ ।
संसद्को कार्यकाल सकिनुभन्दा दश महिना अगावै गर्न लागिएको यस चुनावमा पूर्व राष्ट्रपति राजापाक्षेको श्रीलंका फ्रिडम पार्टी र वर्तमान राष्ट्रपति सिरिसेनाको नेतृत्वमा रहेको युनाइटेड पिपुल्स फ्रिडम एलाएन्सबीच निकै प्रतिस्पर्धा हुने बताइएको छ ।
निर्वाचनमा १८ वर्षभन्दा माथिका करिब डेढ करोड मतदाताले दुई सय २५ संसद चयन गर्नेछन् । १२ हजार तीन सय मतकेन्द्रमा भएको निर्वाचनको परिणाम मंगलबार आउने अपेक्षा गरिएको छ ।