काठमाडौं, ३१ साउन ।
इंग्लिस प्रिमियर लिग फुटबलमा लिसेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा लिसेस्टरले १० खेलाडीमा सिमित वेष्ट ह्यामलाई २–१ ले पराजित गरेको हो ।
खेलको अन्तिम समयमा गोलकिपर एड्रियन रातो कार्ड खादै बाहिरिएपछि वेष्ट ह्याम १० खेलाडीमा सिमित भएको थियो । लिसेस्टरका लागि २७ औं मिनेटमा सिनजी ओकाजाकीले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
यस्तै रियाद महरेजले ३८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारपेछि खेल लिसेस्टरको पक्षमा गएको हो । वेष्ट ह्यामका दिमित्री पेयाटले ५५ औं मिनेटमा वेष्ट ह्यामका लागि एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
शनिबार राति नै भएको खेलमा नर्विचले सनडरल्याण्डलाई ३–१ ले पराजित गरेको छ । २६ औं मिनेटमा रसेल मार्टिनको गोलबाट सुरुवाती अग्रता लिएको नर्विचका लागि ३७ औं मिनेटमा स्टिभन व्हाइटेकर र ५७ औैं मिनेटमा नाथन रेडमन्डले एक एक गोल गरे ।
अर्को खेलमा स्वान्सीले १० खेलाडीमा सिमित न्युक्यासललाई २–० ले हराएको छ । भने शनिबार राति नै भएको खेलमा वाट् फोर्ड र वेष्ट ब्रोमले गोल रहित बराबरी खेलेका छन् । अर्को खेलमा टोटनह्याम र स्टोकले पनि २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
अंक तालिकामा दुई खेलबाट ६ अंक जोडेको लिसेस्टर पहिलो स्थानमा छ । समान ६ अंक सहित म्यानचेस्टर युनाइटेड दोस्रो तथा चार अंक जोडेको एर्भटन तेस्रो स्थानमा छन् ।


