पोखरालाई ९ रनले हराउँदै जनकपुरको लगातार दोस्रो जित

पोखरालाई ९ रनले हराउँदै जनकपुरको लगातार दोस्रो जित

  • आइतवार, कार्तिक १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।

जनकपुरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन मात्रै बनाउन सक्यो। यससँगै जनकपुरले प्रतियोगितामा तेस्रो खेलबाट दोस्रो जित दर्ता गरेको छ।

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौंलाई ८ विकेटले हराएको थियो। तीन खेलबाट दुई जित र एक हार बेहोरेको जनकपुरले ४ अंक जोडेको छ।

जनकपुरको जितमा बलर मोइन अलीले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा एक मेडन राख्दै मात्र १३ रन खर्चेर ३ विकेट लिए। सैफ हसन र हरमित सिंहले समान २ विकेट लिँदा जिम्मी निसम र ललित राजवंशीले एक–एक विकेट हात पारे।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ५ चौका प्रहार गरे। ललित राजवंशीको बलमा अविशेक तिवारीबाट क्याच आउट हुनुअघि उनले टोलीलाई जिततर्फ अघि बढाउने प्रयास गरेका थिए।

किरण ठगुन्नाले १५ रन बनाए। ५ बल खेलेका उनले २ चौका र एक छक्का प्रहार गरे। हरमित सिंहको बलमा उनी एलबीडब्लु धरापमा परे।

चमिका करुणारत्ने ४ रनमा आउट भए भने सकिब अल हसनले ९, मेहदी हसनले ८ र अर्जुन घर्तीले ७ रन बनाए। ओपनर दिनेश खरेल ३ र मोहम्मद सैफुद्दिन शून्य रनमा आउट भए।

विपिन आचार्यले २० रन बनाए पनि टोलीको हार टार्न सकेनन्। जिम्मी निसमको बलमा उनी क्याच आउट भए। विपिन खत्री १६ रनमा अविजित रहे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पोखराले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।

जनकपुरका लागि ओपनर तृतराजले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। मेहदी हसनको बलमा कुशल भुर्तेलबाट क्याच आउट हुनुअघि उनले ४९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए।

एनपीएलमा तृतराजको यो छैटौँ अर्धशतक हो। यसअघि सोमपाल कामी, डेभिड मलान, मोइन अली, दीपेन्द्रसिंह ऐरी र लोकेश बमले पनि अर्धशतक प्रहार गरिसकेका छन्।

अर्का ओपनर मोइन अलीले १६ बलमा ३ चौका र एक छक्कासहित २१ रन बनाए। उनी सकिब अल हसनको बलमा क्याच आउट भए।

जिम्मी निसमले ११ रन बनाए। कप्तान हरमित सिंह र अनिल शाहले समान ९ रन जोड्दा सैफ हसनले एक रन मात्रै बनाउन सके। अविशेक तिवारी २४ रनमा अविजित रहे।

पोखराका लागि सकिब अल हसनले सर्वाधिक ३ विकेट लिए। मोहम्मद सैफुद्दिन र चमिका करुणारत्नेले समान एक विकेट लिए। मेहदी हसनले ४ ओभरमा एक मेडन राख्दै २४ रन खर्चेर एक विकेट हात पारे।

एनपीएलअन्तर्गत सोमबार दुई खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ